मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नतिको काम अलपत्र



रसुवा ।

गल्छि–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसि–रसुवागढी सडकको ठेकेदार कम्पनीले बिचैमा काम छोडेपछि स्तरोन्नति र सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेंसिसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवा पर्खाल,नाली निर्माण एवम कालोपत्र समेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारतको सिद्विशाही कन्ट्रक्सन जेभिले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको छ ।

सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ । तर हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको बताइएको छ । एक अर्ब ४५ करोड रूपियाँको लागतमा कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर फागुन ५ गतेदेखि काम छाडी सम्पर्कविहीन भएको बताइएको छ ।

उक्त कन्स्ट्रक्सनलाई पत्राचार गरेर काममा फर्कन ताकेता गरेता गरेको गल्छि–त्रिशूली–मैलुङ–स्याफ्रुबेंस– रसुवागढी सडक योजनाले जनाएको छ । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक फागुनमा हिडेपछि उक्त क्षेत्रमा रहेको निर्माण उपकरण र सवारी साधनसमेत लगेकाले स्थलगत काम पूर्ण रूपमा अहिले बन्द भएको छ ।

जिम्मा लिएको काम छोडी विस्तारमा बाधा पुर्याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही समेत अगाडि बढाइएको आयोजनाले बताएको छ ।

ठेक्का रद्वका लागि चरणवद्व रूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भइरहेको छ । बीचमा काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पुर्याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको साढे १२ करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढन योजना कार्यालय बाध्य हुने बताइएको छ ।

नेपाली सेनाद्वारा डवल लेन ट्रयाक खोलिएको सो राजमार्ग हालसम्म सुधारका कार्य २३ प्रतिशत मात्र भएको प्राविधिकहरूले जानकारी दिएका छन् । गल्छिदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा पुलमध्ये चारवटा सम्पन्न भई यातायात चालु भइसकेको र अन्य पक्कीपुल धमाधम निर्माण भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्