कोरोना प्रभावितलाई उद्यमी बनाउन नगद अनुदान



स्याङ्जा ।

कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यावशाय शुरू गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यावशाय शुरू गर्न नयाँ योजना पेस गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको हो ।

उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’का रूपमा २० जनालाई जनही ५० हजार रुपियाँका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । पालिकाले यसअघि पनि आफ्नै व्यावशाय शुरू गर्न चाहाने युवायुवतीहरूका लागि स्टार्टअपका रूपमा नगद अनुदान दिँदै आएको छ ।

कोरोना संक्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको छ नगरप्रमुख खाँणले भन्नुभयो– ‘सोही कोषमार्फत आफ्नै व्यावसाय शुरू गर्न चाहाने तथा व्यवसायको थप प्रवद्र्धन गर्ने युवायुवतीलाई सहयोग गर्दै जाने नगरपालिकाको योजना छ ।’

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरूको आयआर्जन वृद्धि गर्न ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इबिक सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिँदै आएको प्रमुख खाँणको भनाइ थियो । अनुदान वितरण गर्दै नगर प्रमुख खाँणले भन्नुभयो, ‘यहाँहरूले शुरू गर्नु भएको उत्पादनमूलक कार्यमा नगरपालिकाले साथ दिनेछ ।’

कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले अनुदानको सही प्रयोग गर्दै नवीनतम काममार्फत् उत्पादनलाई बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘नगरपालिका तपाईंहरूको साथमा छ यहाँहरूलाई सबैखाले सहयोग गर्न हामी तयार छौं । प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले उद्यमशीलताको क्षेत्रमा नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उद्यमशीलता व्यावसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र इबिकमार्फत रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउने गरी क्रियाकलाप सञ्चालन गर्न लागिएको भट्टराईले जानकारी गराउनुभयो ।

कोरोना संक्रमणका कारण तथा अन्य कारणबाट बेरोजगारी समस्या बढ्दै गएको बताउँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले भन्नुभयो, स्वरोजगार बनाउन र उत्पादनमूलक क्षेत्रमा पे्ररित गर्न नगद अनुदानले निक्कै सहयोग पुर्याउनेछ । उहाँले भन्नुभयो, नगरपालिकाले शुरू गरेको अभियानमा युएनडीपीले सहकार्य गरिरहेको छ जुन निक्कै उपलव्धीमुलक समेत रहेको छ ।’ विभिन्न समस्याका कारण रोजगारी गुमाएका र अब के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’का रूपमा विगत दुई वर्षदेखि नगद अनुदान दिन थालिएको साझेदार दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडाध्यक्ष पोत प्रसाद लम्साल, कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेलगायतले बोलेका थिए । नगरपालिकाले विगत २ वर्षदेखि नवउद्यमी तथा कोभिड प्रभावितहरूलाई अनुदान र नवीनतम सोचलाई पुरस्कृत गर्दै आएको छ । कार्यक्रमपश्चात् नगरपालिका र नवउद्यमी, कोभिड प्रभावित उद्यमी तथा व्यावसायीहरू बिच अन्तरक्रियासमेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्