पत्रकार न्यौपानेलाई इच्छुक स्मृति पत्रकारिता पुरस्कार



काठमाडौं (नेस) ।

पत्रकार नवराज न्यौपानेलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा बिमापोस्ट डटकमका सम्पादक न्यौपानेलाई २५ हजार नगद राशी भएको पुरस्कारबाट सम्मानित गर्नुभएको हो ।

जनपक्षीय पत्रकारितामार्फत योगदान पुर्याएवापत पत्रकार न्यौपानेलाई रिपोर्टर्स क्लवले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान प्रदान गरिएको क्लवले जनाएको छ । २०५७ सालदेखि सिटी टाइम्स सन्ध्याकालीन दैनिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका न्यौपाने महिमा साप्ताहिक, दृष्टि साप्ताहिक, जनसमाज दैनिक, आर्थिक दैनिकलगायतका पत्रिकामा काम गरिसकेका छन् ।

हाल बिमापोस्ट डटकम अनलाइन कार्यरत न्यौपाने मुलुकमा १० वर्षसम्म चलेको जनयुद्धमा अप्रत्यक्ष रूपमा संलग्न रहेका थिए । २०६२ सालमा चैत्रमा सिन्धुपाल्चोकको ठोकर्पामा तत्कालीन शाही नेपाली सेनाले गरेको हवाई आक्रमणमा बचेर उम्केका पत्रकार हुन् । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिस्ट फोरमका संयोजकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्