मुख्यमन्त्री पोखरेलद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन

१ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै



कास्की । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत् खानेपानी आयोजना शनिवार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको काली खोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताए । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उनले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुग्न लागेको बताए ।

२० औँ वर्षसम्म आयोजना अलपत्र भएर नागरिकहरू खानेपानी बाट वञ्चित रहेको अवस्थामा काहुँमा निर्धारित समयमै काम सकिएकोप्रति उनले खुसी व्यक्त गरे । अहिले प्रदेशमा मात्र नभएर मुलुकभर लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत् महसुलका कारण उपभोक्ता मारमा परेको उनको भनाइ थियो । प्रदेश सरकारले अहिले नै सबै आयोजनालाई विद्युत् महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमशः गर्दै जाने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले पर्यटकीय सम्भावना बोकेको काहुँडाँडा र आसपासको क्षेत्रमा पर्यटक टिकाइराख्न थप पूर्वाधारको जरुरी रहेको भनाइ राखे । सीमित स्रोत र साधनाका बिच प्रदेश सरकारले जन अपेक्षा र प्रतिबद्धता अनुसार काम गर्दै आएको उनको भनाइ थियो । प्रदेश र स्थानीय तहका सरकारलाई संघले कम बजेट दिएकै कारण सोचे अनुसार आयोजनाहरू अगाडि बढाउन नसकिएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको आयोजनाको लागत अनुमान ११ करोड ६७ लाख रहे पनि ७ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । काली खोलाबाट मोटरले पानी तानेर १/१ लाख लिटर क्षमताका ३ वटा ट्याङ्की निर्माण गरिएको छ । आयोजना अन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र ५ हजार ४ सय ३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सिल्टेसनका साथै निर्मलीकरण गरिएको भएको यसबाट वितरित पानी धाराबाट सिधै खान मिल्ने हुन्छ ।

कार्यक्रममा प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले परिवर्तित राजनीतिक अवस्थासँगै बनेको गठबन्धन सरकारले विकास निर्माणका साथै सामाजिक क्षेत्रमा समेत प्रभावकारी काम गर्दै आएको बताए । आफ्नो निर्वाचन क्षेत्र रहेको रहेकाले काहुँ क्षेत्रको पूर्वाधारका लागि लगातार योजनाहरू परेर कार्यान्वयन समेत हुँदै आएको भनाइ उनको थियो ।

सङ्घीय सांसद विद्या भट्टराईले नागरिकको पहिलो आवश्यकता बाटो र दोस्रोमा खानेपानी हुने गरेको भन्दै स्वच्छ पानी मात्र उपलब्ध गराउन सके नागरिकलाई धेरै रोगबाट मुक्त गराउन सकिने भनाइ राखिन् ।

गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङ, प्रदेशको ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयको खानेपानी महाशाखा प्रमुख प्रेम डोटेल, वडाध्यक्ष मोहनप्रसाद बास्तोला लगायतले उक्त अवसरमा शुभकामना व्यक्त गरे । स्थानीय विष्णुप्रसाद आचार्य, कुमार क्षेत्रीले पानी लिफ्टिङका लागि धेरै बिजुली खर्च हुने भएकाले महसुलमा सहुलियत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

काहुँ धरहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष दीपकप्रकाश आचार्यले यस परियोजनाको पानीले मात्र पुर्‍याउन नसकिने भएकाले विगतदेखि नै सञ्चालन हुँदै आएका ससाना ११ वटा योजना पनि सँगसँगै सञ्चालनमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्