तीन पाने राडरमा एमालेको उत्साह, बागमतीमा जीत पक्का भएको उद्घोष 



ललितपुर । 

नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती गाउँपालिका कमिटीको आयोजनामा वृहत् भेला, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिवार भट्टेडाँडाको तीन पानेस्थित पर्यटकीय राडर क्षेत्रमा आयोजित वनभोज सहितको कार्यक्रममा गाउँपालिकाका सातै वडाबाट उत्साहमूलक रूपमा जनताहरू सहभागी भएका छन्।

कार्यक्रमको लागि अपेक्षा गरिएको भन्दा झन्डै दोब्बर सङ्ख्यामा कार्यक्रममा उपस्थिति भएपछि पार्टी प्रतिको उत्साह हेर्दा आउँदै गरेको स्थानीय तहको निर्वाचनमा पार्टीको जीत पक्का भएको गाउँपालिका कमिटीका अध्यक्ष नवराज सन्जेलले दाबी गरेका छन् । साथै उनले भोलिबाट नै पार्टी कमिटी चुनावी तयारीका लागि जनताको घरदैलोमा जाने बताए।  कार्यक्रमको लागि लगभग ५ देखि ६ सय सम्म उपस्थित हुने आकलन गरिएकोमा सबै वडाबाट गरी १ हजारभन्दा बढी युवा, महिला तथा वृद्धवृद्धाहरु समेत उक्त कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, प्रदेश कमिटी सचिवालय सदस्य मधुसुदन पौडेल, प्रदेश कमिटी सदस्यहरू गोपाल सन्जेल, रामचन्द्र दाहाल, रामकृष्ण हुमागाईँ, बाबुकाजी प्रधान, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य लगायत विभिन्न पालिका कमिटी, जन वर्गीय सङ्गठनका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको प्रमुख अतिथि  रहेकी पोलिटव्युरो सदस्य सुशीला नेपालले विगतको स्थानीय इर्वाचानामा गाउँपालिका प्रमुख र उपप्रमुखमा पार्टीले विजय हासिल गर्न नसक्दा गाउँपालिका बासीको खुसी र विकास निर्माण ५ वर्ष पछाडि धकेलिएको बताइन।  साथै अबको निर्वाचनमा पार्टीलाई विजय गराउनु पात्र प्रमुख उद्देश्य लिई टिकटको नाममा कुनै व्यक्ति विशेषमा नअल्झिन सबै नेता कार्यकर्तालाई सुझाव दिएकी छिन्।

केन्द्रीय सदस्य  हरिकृष्ण व्यञ्जनकारले जनताको जनादेशले निर्माण गरेको एमाले नेतृत्वको सरकारलाई अपदस्त गरी परमादेशको भरमा निर्माण भएको सरकारले गरेका गलत कामको भण्डाफोर गर्दै एमालेले गरेको राम्रा र जन पक्षीय कामको कुरालाई जनताको बिचमा लिएर जानुपर्नेमा जोड दिए। साथै सङ्घीय सांसद नवराज सिलवालले आगामी निर्वाचनमा सबै स्थानीय तह, प्रदेश र केन्द्रमा एमालेको सरकार बन्ने भन्दै एमालेको उत्साह र जनलहर देख्दा सत्ता गठबन्धनका नेताहरू अताल्लिएर बरबराउन थालेको जिकिर गरे।

यसै गरी प्रदेश सांसद चेतनाथ संजेलले बाग्मतीका जनताको एमालेप्रतिको उत्साह देख्दा स्थानीय निर्वाचनमा विजय निश्चित भईसकेको र आधिकारिक रूपमा घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरे।  उनले प्रदेश सरकारबाट आफ्नो पहलमा आएका सडक,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका कामको जस आफूले लिने बाहेक गाउँपालिका अध्यक्षले जनताको पक्षमा केही काम नगरेको आरोप लगाएका छन्। पार्टी जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले हरेक जनताको मन मनको पार्टी एमालेलाई आगामी तीनै तहको निर्वाचनमा जनताले जिताउने र देशमा विकास निर्माणले थप गति लिने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिकाको बोर्ड सदस्यमा निर्वाचित भएका गिम्दीका मदन विकसहित लगभग १०० जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गरेका पालिका बोर्ड सदस्य विकले ५ वर्षभित्र गाउँपालिकामा आफूहरुले हस्ताक्षर गर्नेबाहेक केही गर्न नपाएको र पालिका अध्यक्षले नै हरेक कुराहरू मनोमानी गर्ने गरेका ले आफ्ना माग र मुद्दाहरू कहिल्यै सुनुवाइ नभएको बताए।  अब गाउँपालिकामा कांग्रेसलाई भोट दिनुपर्ने कुनै कारण र आधार नभएको भन्दै विकले सबै जनताको विश्वास एमालेमै रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्