विद्युत् सेवा बन्द हुँदा सर्वसाधरण मारमा



मुगु ।

मुगुको सदरमुकामसहित छायाँनाथ रारा नगरपालिका आसपासका बस्तीमा विद्युत् सेवा बन्द हुँदा दैनिकी कष्टपूर्ण बनेको छ । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रअन्तर्गत गमगाढ जलविद्युत् आयोजनाको बालैस्थित इन्टेकमा समस्या भएपछि मर्मतका लागि विद्युत् उत्पादन बन्द गरिएको हो ।

विद्युत् सेवा बन्द हुँदा बैंक, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो प्रभाव परेको छ । पानी नै बन्द गरेर मर्मत गर्नुपर्ने भएकाले सेवा बन्द गरेको प्राधिकरणले जनाएको छ । जसको मार सदरमुकाम गमगढी बजारलगायत आसपासका बस्तीलाई परेको हो । नेपाल विद्युत् प्राधिकरण गमगाड वितरण केन्द्र मुगुका वितरण केन्द्र प्रमुख दिनेश पौड्यालले १९ चैतसम्म विद्युत् अवरुद्ध हुने जानकारी दिनुभयो । करिब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना भएको गमगाढ साना जलविद्युत् आयोजना पटक–पटक बिग्रिन थालेपछि सुधारका लागि मर्मत शुरु भएको हो । स्थानीयले धेरै नै गुनासो गरेपछि मर्मत थालेको प्राधिकरणले जनाएको छ ।

१२ चैतमा विद्युत् अवरुद्ध भएयता सरकारी कार्यालयको कामकाज ठप्पजस्तै भएको छ । साथै स्कुल कलेजमा पढ्ने बालबालिका पनि विद्युत् अभावको मारमा परेका छन् । उनीहरू टुकी बालेर पढ्न बाध्य छन् । वितरण केन्द्रमा रहेको मोटर जल्दा विद्युत्मा अनियमितता हुँदै आएको थियो । गमगढीमै मोटर मर्मत गर्न नसक्दा नेपालगन्ज लैजानुपरेको छ ।

सदरमुकाम गमगढी बजारलगायत अन्य बस्तीमा विद्युत् सेवा नहुँदा मोबाइल चार्ज गर्न समेत नपाएको छायाँनाथ रारा नगरपालिका–२ का कृष्णबहादुर मल्लले बताउनुभयो । एकातिर अध्यन–अध्यापनका लागि पनि सास्ती भएको छ भने अर्कोतर्फ सरकारी तथा गैरसरकारी कार्यालयमा समेत काम ठप्प भएको छ । विद्युत् सेवा नहुँदा मैनबत्ती बालेर भए पनि कार्यालय सञ्चाल गरेको आँखा अस्पताल मुगुका कार्यालय प्रमुख ध्रुव बुढ्थापाले बतानुभयो ।

विद्युत् गृहमा जडित मेसिन पुरानो भएको र अहिले बजारमा त्यो मोडलका सामान पाउन मुस्किल हुने गरेको छ । विद्युत् गृहमा स–सानो समस्या आए पनि चीनको कम्पनीसँग सोध्नुपर्ने र त्यहीबाट सामान मगाउनुपर्ने अवस्था छ । यसले पटक–पटक समस्या हुने गरेको वितरण केन्द्र प्रमुख पौड्यालले बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्