‘अक्सिजन प्लान्ट कोभिडका लागि मात्रै होइन’



गुल्मी ।

पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अक्सिन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताउनभएको छ । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको बिहीबार उद्घाटन गरेपश्चात् उहाँले सो बताउनुभएको हो ।

नेकपा एमालेका उपमहासचिवसमेत रहेका नेता ज्ञवालीले आफ्नो सरकारका पालामा पनि नागरिकको स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा र पालिका–पालिकामा आभारभूत स्वास्थ्य अस्पताललाई जोड दिएको उल्लेख गर्नुभयो । ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र प्रवेश गर्दा एक किसिमको निजीकरण भयो’, उहाँ भन्नुहुन्छ– ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको संलग्नताका थुप्रै खालका विकृति आइरहेका छन् ।’

नागरिक स्तरबाट शुरु गरिएको अक्सिजन प्लान्टमा राज्यबाट पनि लगानी गरेर सार्थकता पाएको हो । राज्यबाट अक्सिजन प्लान्ट निर्माणका निम्ति बजेट विनियोजन भए पनि धेरै ठाउँमा काम नभएको ज्ञवालीको कथन छ । तर, जिल्लामा अस्पताल प्रशासनको सक्रियता र नागरिकको खबदारीका कारण प्लान्ट सञ्चालनमा आउन सफल भएको उहाँले बताउनुभयो ।

गुल्मी अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन १ सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको हो । प्लान्टबाट दैनिक ४० वटा अक्सिजन सिलिन्डर उत्पादन क्षमता रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्चाले बताउनुभयो । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव नहोस् भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माणकार्य गरेको उहाँको भनाइ छ ।

प्लान्ट सञ्चालनमा आएको केही महिना भए पनि विधिवतरूपमा उद्घाटन बिहीबार गरिएको हो । अहिले गुल्मी अस्पतालमा प्रतिदिन १० वटा अक्सिजन सिलिन्डर खपत हुन्छ । प्लान्ट निर्माणसँगै अस्पतालमा अक्सिजनमा सहजता आएको सुपरिटेन्डेन्ट डा. पच्चाको कथन छ ।

प्रतिक्रिया दिनुहोस्