जीवनमा सकारात्मक परिवर्तन अवश्य हुनेछ



  • प्रेम रावत

तपाईँ जीवित हुनुहुन्छ । यसको तात्पर्य के हो ? तपाईँसँग वास्तवमा के छ ? तपाईँ को हुनुहुन्छ ? सुकरातले भनेका छन्, ‘आफूले आफूलाई चिन्नुहोस् !’
तपाईँ हुनुहुन्छ । यो सबैभन्दा उत्तम कुरा हो । तथापि, यो दुर्गन्धमा फस्नु राम्रो होइन । यदि तपाईँले आफूले आफूलाई चिन्नुभयो भने तपाईँ एउटा फूल हुनुहुन्छ । त्यसको सुगन्ध सारा संसारमा फैलन सक्छ । हामीले यो संसारमा मानवतालाई भुलेकै कारणले यस्तो दुर्गति भइरहेको छ । मानिसका बारेमा कसैले कुरा गरिरहेकै छैन । मानवतालाई बिर्सियो । अहिले मानवता भन्ने कुरा कस्तो भयो ? ‘यस्तो गर्नुहोस् ! यो गर्नुहोस् ! त्यहाँ जानुहोस् ! त्यस्तो गर्नुहोस् ! फलानोलाई भोट दिनुहोस् !’ यस्तै कुरा भइरहेका छन् ।

एकपटक एकजनाले मलाई भने, ‘आज म हजुरको सामीप्यमा बसेको छु अनि मलाई कस्तो लागिरहेको छ भने मभित्र प्रकाश छ र म खुशी भएको छु ! तर, हजुर त जानुहुनेछ ! अनि, मैले फेरि हजुरबाट टाढिनुपर्छ । म गएपछि यदि त्यहाँ फेरि म दुःखी भएँ भने आज मैले पाइरहेको खुशीलाई पुनः कसरी पाउन सक्छु ?’

मैले भनेँ, ‘जुन प्रकाशका बारेमा तपाईँ कुरा गरिरहनुभएको छ अनि जुन खुशीका बारेमा तपाईँ कुरा गरिरहनुभएको छ त्यो मभित्रबाट आइरहेको होइन । त्यो तपाईँभित्रबाट आइरहेको छ । यस कुरालाई कहिल्यै नबिर्सनुहोस् । चाहे जतिसुकै निस्पट्ट अँध्यारो भए पनि त्यो प्रकाश सधैँ तपाईँभित्रै हुन्छ । तपाईँ चाहे जतिसुकै दुःखी हुनुभए पनि एउटा बुझ्नुपर्ने कुरा के छ भने, खुशी तपाईँभित्रै छ ! दुःखलाई हटाउनका लागि खुशी तपाईँभित्रै छ । आफूभित्र महसुस गरेर त हेर्नुहोस् ! खुशी कहिल्यै तपाईँभित्रबाट हट्दैन । प्रकाश अँध्यारोबाट कति टाढा हुन्छ ? प्रकाश आएपछि अँध्यारोलाई हटाउनका लागि कति समय लाग्छ ! तपाईँको दिमागमा कुराहरू भरिएका छन् । यी कुरालाई पन्छाएर अनुभवका बारेमा सोच्नुहोस् । तपाईँभित्र के छ ? यो प्रेम, यो प्रकाश, यो संसार जुन तपाईँभित्र छ, जहाँ ती सृष्टिकर्ता छन्, स्वर्गभन्दा पनि विशेष कुरा, त्यो तपाईँभित्र छ । सबैथोक तपाईँभित्र छ ।

एउटा सानो कथा छ । एउटा फिरन्ताहरूको समूह थियो । त्यस समूहमा एकजना मुखिया थिए । एकदिन मुखियाकहाँ एकजना सानो बालक आए । तिनले भने, ‘मुखिया बा ! हजुरसँग मैले एउटा जिज्ञासा राख्न चाहेको छु ।’
मुखियाले भने, ‘सोध ! के सोध्नु छ ?’

उनले सोधे, ‘मैले केही मानिसलाई हेरेँ । कहिलेकाहीँ तिनीहरू एकदमै असल हुन्छन् अनि तिनै मानिस असल हुँदाहुँदै पनि कहिलेकाहीँ खराब काम गर्छन् । खराब बन्न पुग्छन् । यस्तो किन हुन्छ ? भन्न खोजेको के होइन भने ‘केही मानिस खराब हुन्छन् र केही मानिसचाहिँ असल हुन्छन्’ । होइन । केही मानिसहरू राम्रा हुन्छन् तर तिनै मानिस राम्रा हुँदाहुँदै पनि धेरै पटक खराब काम गर्छन् । यस्तो किन हुन्छ ?’
मुखियाले भने, ‘हरेक मानिसमा दुईवटा ब्वाँसाहरू हुन्छन् । एउटा असल ब्वाँसो हुन्छ अनि अर्को खराब ब्वाँसो हुन्छ । ती दुईवटै एक–आपसमा झगडा गरिरहन्छन् । कुनै बेला राम्रो ब्वाँसोले जित्छ । कुनै बखत खराब ब्वाँसोले जित्छ ।’
केही समयपछि बालकले सोधे, ‘मुखिया बा, एउटा कुरा बताइदिनुहोस् न, जित्नचाहिँ कसले जित्छ ?’
मुखियाले भने, ‘जुन ब्वाँसोलाई तिमीले खुवाउँछौ नि, त्यही ब्वाँसो बलियो हुन्छ अनि त्यसले जित्छ ।’

तपाईँभित्र पनि दुईवटा ब्वाँसा छन् । तपाईँ कुन ब्वाँसोलाई पालनपोषण गर्नुहुन्छ ? तपाईँलाई रिसाउनका लागि कति समय लाग्छ ? यदि रिसाउनका लागि कुनै बेरै लाग्दैन भने त यसको अर्थ तपाईँले खराब ब्वाँसोलाई खुवाइरहनुभएको छ । राम्रोचाहिँ ब्वाँसोलाई खुवाउनुहोस् । तपाईँको जीवनमा अवश्य पनि परिवर्तन हुनेछ ।

हरेक व्यक्तिभित्र गुण र अवगुण दुवै हुन्छ । अँध्यारो र प्रकाश पनि दुवै हामीभित्रै हुन्छ । शङ्का र स्पष्टता पनि भित्रै छन् । यदि हामी यस संसारमा हराइरहेका छौँ भने हराउनु अनि आफूले आफैँलाई पाइरहनुभएको छ भने पाउनु, ती हामीभित्रै छन् । हामीले कुनै चीजलाई हेर्दा सौन्दर्यको अनुभूति हुन्छ, त्यो सौन्दर्यको आनन्द पनि भित्रै छ । किनकि हामी जे–जति गरिरहेका छौँ त्यसको स्रोत हामीभित्र छ । यदि मैले कुनै कुरा बुझिरहेको छु भने त्यसको स्रोत म नै हुँ । अनि, बुझिरहेको छैन भने पनि त्यसको स्रोत म नै हुँ । यस सृष्टिका रचनाकार जसलाई हामी खोजिरहेका छौँ– अनि राक्षस, जसबाट म बच्न चाहन्छु, दुवै मभित्रै छन् । म जहाँ गए पनि– दुवै मसँगै जान्छन्, किनकि सबैथोक मभित्रै छ ।

कैयौँ पटक कोठामा गएर ढोका बन्द गरेपछि हामी सोच्दछौँ– ‘अब म एक्लै छु ।’ तर, त्यतिखेर पनि हामी एक्लो हुँदैनौँ । जसले सम्पूर्ण सृष्टिलाई रचना गरेका छन् अनि दुष्टता जसबाट सारा संसार आजित भएका छन् : दुवै हामीसँगै आएका छन् । सधैँ ! जेसुकै भइरहेको भए पनि दुवै सँगै छन् । अवगुणलाई छोड्नु या गुणलाई अपनाउनु, दुवै तपाईँको नियन्त्रणमा छ ।

शान्ति पनि कतै बाहिर छैन । त्यो पनि हामीभित्रै छ । यदि शान्ति अर्कै कुनै स्थानबाट आइरहेको छ भने गडबड छ । यसको अर्थ यसो हो– यदि शान्ति पृथ्वीमा भएको कुनै कुवाबाट आइरहेको छ अनि हामी हवाईजहाजमा पचास हजार फिट माथिबाट उडिरहेका छौँ भने हामी शान्तिको अनुभव गर्न सक्दैनौँ । तर यदि त्यो शान्ति भित्रबाट आइरहेको छ भने हामी जहाँसुकै भए पनि त्यसको अनुभव गर्न सक्छौँ । यदि हामी केवल बाहिरबाट लडिरहेका छौँ अनि भित्रबाट शान्त छौँ भने शान्तिको अनुभव त लडाइँको मैदानमा पनि हुन सक्छ ।
बाहिरी शान्ति ल्याउनका लागि आन्तरिक शान्तिको अनुभूति गर्नु अत्यन्त आवश्यक हुन्छ । यसलाई एउटा उदाहरणबाट पनि बुझ्न सकिन्छ ।

यदि तपाईँसँग पानीले भरिएको गाग्रो छ अनि तपाईँ रेलमा यात्रा गरिरहनुभएको छ । तपाईँले गाग्रोको ढकनीलाई खोलेर हेर्नुभयो भने पानी हल्लिरहेको देख्नुहुन्छ । तपाईँको मनमा विचार उत्पन्न हुन्छ, ‘पानी किन हल्लिरहेको छ ? गाग्रो त हल्लिरहेको छैन ? मैले यसलाई राम्रोसँग समातेको छु, तैपनि पानी हल्लिरहेको छ ।’ त्यसको कारणका बारेमा हामी सबैलाई थाहा छ । ट्रेन हल्लिरहेको हुनाले गाग्रो पनि हल्लिरहेको छ र पानी पनि । चाहे तपाईँ गाग्रोलाई जतिसुकै जोडले समातेर बस्नुहोस्, पानी त हल्लिन्छ नै । ठीक त्यसै गरी यदि तपाईँ अशान्त हुनुहुन्छ, अर्थात् तपाईँ हल्लिरहनुभएको छ भने बाहिर पनि अशान्ति नै हुनेछ । यदि तपाईँ भित्रबाट शान्त हुनुहुन्छ भने त्यही शान्ति बाहिर पनि प्रकट हुन्छ । किनभने शान्ति त हामीभित्रै छ ।

हामी सबै जीवनमा विजय हासिल गर्न चाहन्छौँ । हामी दुःखमा पनि विजय प्राप्त गर्न चाहन्छौँ अनि सुखमा पनि । जीवनमा जति पनि चुनौतीहरू आउँछन्, ती सबैमा हामी जित होओस् भन्ने चाहन्छौँ । तर, यदि हामी आफूले आफैमा विजय हासिल गरेनौँ भने सबै कुरा निरर्थक हुनेछ ।

यदि एकमा शून्य जोड्ने हो भने एक त एक नै रहन्छ । शून्य भनेको त्यो अनन्त चीज हो । त्यसलाई नापजाँच गर्न सकिँदैन । त्यसलाई केही पनि गर्न सकिँदैन । यदि त्यस अनन्त चीजसँग हामी जोडियौँ भने के बन्न सक्छौँ ? म एक हुँ र त्यो अनन्त शून्य हो । यदि मेरो भेट मभित्र रहेको त्यो शून्यसँग, त्यो अनन्तसँग हुन्छ भने म पनि अनन्त बन्छु । तर, यो शरीर होइन । यो त नाशवान् छ र नाशवान् नै रहनेछ ।

तर, जुन भित्रको चीज छ, मभित्र जो अविनाशी बसेका छन् । यदि म उनीसँग जोडिएँ भने म पनि उनैमा समाहित हुन्छु । त्यसपछि, म पनि सबै स्थानमा हुन्छु । यदि म उनैमा लीन भएँ भने त मेरा लागि त्यही नै सबैथोक हो । यदि म लीन हुन सकिन भने त मेरो पूरै ध्यान यही माटोमा, यही शरीरमा जानेछ । यसले त एकदिन माटो नै बन्नुपर्नेछ । अनि, माटोमा गएर मिल्नु छ, चाहे हामी जेसुकै गर्ने कोशिश गरौँ ।

यहाँ के भइरहेको छ भन्ने कुरा मानिसले बुझ्न् ! सबैभन्दा ठूलो कुरा त यो हो । जुन बाहिर भइरहेको छ, त्यो सत्य होइन । त्यो बदलिरहनेछ, बदलिरहनेछ तर जुन यहाँ (हृदय) भित्र भइरहेको छ, त्यो साँचो हो । त्यो सत्यको अभावमा सारा कुरा अधुरो छ । यदि हामीले यो कुरालाई बुझेनौँ, यो कुरालाई जानेनौँ भने हामी यहाँ आउनुको फाइदा नै के भयो र ?

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्