प्रधानमन्त्री देउवा आज भारत जाँदै



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी आरजु देउवाका साथै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव र स्वास्थ्यमन्त्री विरोध खतिवडाका साथै विभिन्न मन्त्रालयका सचिवलगायत समावेश छन् ।

प्रधानमन्त्री देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति एम वेंकैया नाइडुसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै भारतका गृहमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारले प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यतालिका पनि रहेको छ ।

प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा व्यापारीहरूको एउटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । तीन दिने भ्रमण सकेर फर्कनुअघि प्रधानमन्त्री देउवाले वाराणसीको भ्रमण पनि गर्नुहुनेछ । यसैबीच भारत–नेपाल एलओसी नवौं समीक्षा बैठक चैत्र १५ गते काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा भारत सरकारको ऋण सहयोगमा नेपालमा निर्माण भइरहेका परियोजनाहरूमा भएका प्रगतिका समीक्षाका साथै परियोजना कार्यान्वयनको थप सुनिश्चितता र एलओसी अन्तर्गतका रकमको थप प्रभावकारी उपयोगबारे छलफल भएको थियो ।

बैठकमा भारतीय विदेश मन्त्रालयका सह–सचिव (विकास साझेदारी प्रशासन) श्रीधरण मधुसूधनन्ले नेतृत्व गर्नुभएको भारतीय टोलीमा भारतीय दूतावास र एक्जिम बैंकका अधिकारीहरूको सहभागीता थियो । त्यसैगरी अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहकार्य समन्वय महाशाखाका सह–सचिव ईश्वरीप्रसाद अर्यालको नेतृत्वको नेपाली टोलीमा भारतको एलओसीअन्तर्गतका परियोजनाको कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीहरूको सहभागिता थियो ।

यसअघि एलओसी समीक्षा बैठकको अघिल्लो दिन चैत्र १४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मोदी–लेखनाथ विद्युत् प्रसारण लाइन तथा सबस्टेसन परियोजनाअन्तर्गत निर्माण भएका सबस्टेसनको कास्की जिल्लाको लह चोकमा उद्घाटन भएको थियो । भारतको २५ करोड अमेरिकी डलर ऋण सहयोग रहेको यस परियोजनाअन्तर्गत ४२ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण भएको छ भने नयाँ मोदी, लह चोक र लेखनाथमा सबस्टेसनको निर्माण भएका छन् । भारतको केपीटीएल लिमिटेड र एबीबीले यस परियोजनाको निर्माण गरिरहेका छन् । परियोजना अन्तर्गतको सबस्टेसन प्याकेजको निर्माण सम्पन्न भएको छ भने प्रसारण लाइनको निर्माण चाँडै सकिने दूतावासले जनाएको छ ।

त्यसै गरी एलओसी बैठकको भोलिपल्ट चैत्र १६ गते एक्जिम बैंकले एक कार्यशालाको आयोजना गरेको थियो । भारतको एलओसी नीति एवं निर्देशिका र भारतीय विकास तथा आर्थिक सहयोग योजनाबारे नेपाली सरोकारवालालाई परिचित गराउने उद्देश्यले आयोजना गरिएको कार्यशालामा एलओसी परियोजनाको कार्यान्वयनमा देखा परेका समस्याबारे पनि छलफल भयो । कार्यशालामा एक्जिम बैंकका अधिकारीले अन्य देशहरूमा परियोजना कार्यान्वयन गर्दाको अनुभव सुनाउदै नेपालमा भारतीय ऋण सहयोगलाई कसरी अझ व्यवस्थित तवरले उपयोग गर्न सकिन्छ भन्नेबारे सुझाव प्रस्तुत गरेका थिए ।

२५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर, ७५ करोड अमेरिकी डलर सहित कुल १ अर्ब ६५ करोड अमेरिकी डलर गरेर नेपालमा चारवटा एलओसी समाविष्ट छन् । यी ऋण सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेका पूर्वाधार विकास परियोजना र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको कार्यान्वयनमा खर्च भएको बताइएको छ । ४० भन्दा बढी सडक परियोजना, जलविद्युत्, प्रसारण लाइन र सिँचाइका अन्य ९ परियोजना तथा आवास र पुनर्निर्माण परियोजनाका लागि मात्रै यी एलओसीले वित्तीय सहयोग प्रदान गरेका छन् ।
२२० केभीको कोशी करिडोर, १३२ केभीको मोदी–लेखनाथ, १३२ केभीको सोलु करिडोर र ४०० केभीको ढल्केबर–भिट्टामोडजस्ता भारतको ऋण सहयोगमा निर्माण भएका ठूला परियोजनामा विद्युत् प्रसारण पूर्वाधारले विशेष महत्व पाएको छ ।

प्रतिक्रिया दिनुहोस्