चिरिबाबुको चर्को प्रचार

उपलब्धि न्यून निर्वाचनको हतार



ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको पाँच वर्षको कार्यकाल प्रचारमुखी भएको नगरवासीको धारणा छ । कला, संस्कृति, सम्पदाले भरिएको ऐतिहासिक ललितपुर नगरीका मेयरले यहाँका कला, संस्कृति, सम्पदासँगै भौतिक पूर्वाधारको विकासमा उदाहरणीय काम गर्ने सबैले अपेक्षा गरेका थिए । तर, मेयर महर्जनको पाँच वर्ष कार्यकाल निराशाजनक नभई मात्र नभई अनेक विवादित र गैरजिम्मेवारपूर्ण व्यवहारले स्थानीय जनताले सम्मानको अनुभूत गर्न सकेन ।

मेयरमा निर्वाचित भएदेखि नै महर्जनले मोनोरेल, फ्लाइओभर बनाउने, दश दिनमै धुलो र धूवाँमुक्त शहर बनाउने भनी हरेक सभा, समारोहमा भाषण गरी लोकरिझ्याईंको प्रवृत्ति देखाउँदै आउनुभएको थियो । लोकरिझ्याईं अर्थात् नारा/कुरा मिठा अपेक्षाभन्दा थोरै नतिजा आफ्नो कार्यकाल सफल रहेको देखाउन मेयर महर्जनले समग्रमा प्रस्तुत गर्दै आएका कामहरू बढी देखावटी र परिणाममुखी कम रहेको आम मतदाताको बताउँछन् ।

हरेक सार्वजनिक सभा, समारोहमा आफूले बोल्ने क्रममा आयोजक, विषय, सन्दर्भ वा प्रसँगलाई कुनै ख्याल नगरी सधैं आफ्नो कार्यकाल सफल रहेका भनि सधैं एउटै विषय दोहर्याउँदै आउनुभएको छ । मेयर महर्जनले ललितपुरका विभिन्न सडकमा बत्ती जडान गर्ने कार्यलाई आफ्नो कार्यकालको उत्कृष्ट कार्यको रूपमा बताउँदै आउनुभएको छ । सडक बत्ती पनि महानगरपालिका, विद्युत् प्राधिकरण र सडक विभागको सहकार्यबाट जडान गरिएको हो । तर, मेयर महर्जनले सडक बत्ती जडान आफ्नै योजना र पहलकदमीबाट सम्भव भएको भान हुने गरी प्रचार गर्दै आउनुभएको स्थानीयको भनाइ रहेको छ ।

‘बत्ती जडान गर्नु नगरको आवश्यकताको हिसाबले राम्रै छ । तर, जम्मै काम आफूले गरेको भनी मेयर महर्जनले पटक पटक भाषण गर्दै आउनुलाई ढाँटको खेल भन्नुपर्ला’ –महानगरपालिका–२५ का स्थानीयबासी दिलीप तिम्लिसिनाले भन्नुभयो । सडक बत्ती जडानको लागि करिब १७ करोड ३६ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । त्यसको ४० व्यहोर्ने छ । महानगरपालिकाले करिब ७ करोड ४१ लाख ६० हजार रुपियाँ र सडक विभागले ३ करोड रुपियाँ खर्च गरी सडक बत्ती जडान गरिएको हो ।

पहिलो चरणअन्तर्गत वागमती पुलबाट जावलाखेल– लगनखेल हुँदै सातदोबाटोसम्म, कोपोन्डोल, पाटनढोका, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म र पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा सडक बत्ती जडान गरिसकेको छ । दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका साविकका गाविसहरूमा जडान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।

त्यसै गरी भीमसेन मन्दिर पुनःनिर्माणलाई मेयर महर्जनले आफ्नो सफल कार्यको रूपमा सम्भवतः सबैभन्दा बढी दाबी गर्दै आउनुभएको छ । मेयर महर्जनले सरकारको एक पैसा खर्च नगरी महानगरपालिकाले आफ्नै पहलमा पुनःनिर्माण गरिएको भनी झन्डै साढे तीन वर्षदेखि सार्वजनिक सभा, समारोह र सञ्चारमाध्यममा एकोहोरो बोल्दै आउनुभएको छ ।

मन्दिर पुनःनिर्माणको लागि एभरेस्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले १ करोड रुपियाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले १ करोड रुपियाँ प्रदान गरेको थियो । महानगरपालिकाबाट १ करोड रुपियाँ, ललिपुर क्षेत्र नं ३ का सांसद पम्फा भुसाल र क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम र वागमती प्रदेश सभा सदस्य ज्ञानेन्द्र शाक्यको सांसद विकास कोषबाट आर्थिक सहयोग उपलब्ध गराइएको थियो । बाँकी विभिन्न संघसंस्था, सर्वसाधारण नागरिकको सहयोगबाट रकम जुटाइएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी) को प्राविधिक सहयोग रहेको छ ।

‘सांसद् विकास कोषको रकम वा प्रदेश सरकारले दिएको रकम सरकारी कोषको रकम होइन र ? अर्को कुरो यो सबैको सहयोगमा बनेको हो’, समितिका अध्यक्ष महर्जनले भन्नुभयो– ‘मन्दिर पुनःनिर्माणमा सबैको भूमिका, योगदान रहेकोले यसको श्रेय कुनै व्यक्ति विशेषलाई नभई सबैलाई जान्छ ।’ भूकम्प गएको डेढ वर्षदेखि पुनःनिर्माणको तयारी गरिएको सो मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाइमा गठित भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिको पहलमा पुनःनिर्माण गरिएको हो ।

भूकम्पले क्षतिग्रस्त पाटनका अन्य पाँच सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर मणिमण्डपका दुई पाटी, कृष्णमन्दिरको पुनःनिर्माणको कार्य सम्पन्न भइसकेको छ । ती मन्दिरहरू काठमाडौं उपत्यका संरक्षण कोष ‘केभीपीटी’ ले विभिन्न दातृ निकाय, राजदूतावासको सहयोगमा पुनःनिर्माण गरेको केभीपीटीका निर्देशक रोहित रञ्जितकारले बताउनुभयो ।

महानगरपालिकाले देगु तलेजु मन्दिरको लागि ८० लाख रुपियाँ, हाल निर्माण भइरहेको भाई देगलमा केही प्रतिशत र नरसिंह मन्दिर पुनःनिर्माणमा भूमिकामा स्रोत विनियोजित गरेको थियो । तर, पाटन दरबार क्षेत्रको सम्पदा सबै महानगरपालिकाकै लागतमा पुनःनिर्माण गरेझै प्रचारबाजी गर्दै आएको ललितपुर हौगल निवासी रविन्द्रराज ताम्रकारले भन्नुभयो– ‘महानगरपालिकाले गरेको कामको श्रेयसम्म लिनु जायज होला । तर, अर्धसत्यलाई सत्य झै प्रचार गर्ने, तथ्यलाई बंग्याएर गरिएको प्रचारले आर्जन गरेको छवि वा प्रतिष्ठा कति दिन टिक्न सक्छ र ?’

लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको प्रायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसै गरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।

नाच पुनः सञ्चालन गर्न पत्रकार, गुठीयारले २०७२ सालदेखि प्रयास गर्दै आएको थियो । नाच सञ्चालनको लागि सरोकारवालासँग संवाद गर्ने भेला, डेलिगेसन र ज्ञापनपत्र बुझाउने निष्कर्ष निकालेको थियो गुठीयार, सञ्चार क्षेत्र, सम्बद्ध पक्षको लगातार पहलकदमीपछि २०७४ सालमा नवदुर्गा नाच र २०७५ सालको दशैताकादेखि पायः जात्रा सञ्चालन भएको थियो । तर, मेयर महर्जनले स्थानीय तहको निर्वाचन हुनु अघिदेखि नै गर्दै आएको प्रयास, गुठीयारको योगदानलाई बेवास्ता गरी नाच र पायो जात्रा आफैंले चलाएको भनी एक वर्षसम्म सभा, समारोहमा एकतर्फी रूपमा प्रचारबाजी गर्दै आउनुभएको गुठीयारहरू बताउँछन् ।

मन दिएर काम नगर्ने, अरूले गरेका कामको श्रेय लिने पनि हतार गर्ने मेयर महर्जनका कारण संस्कृति संरक्षणमा लागेकाहरू अझ मनोबलका साथ सक्रिय हुने भन्दा पनि, निस्क्रियतालाई प्रोत्साहित गर्ने गरेको पायोः जात्रा सञ्चालनका लागि विगतमा संयोजनकारी भूमिका निर्वाह गर्नुहुने सविन श्रेष्ठको भनाइ रहेको छ । नेपाल हस्तकला महासंघले वर्षौदेखि गर्दै आएको लविङ परिणति स्वरूप वल्र्ड क्राफ्ट काउन्सिलले २०७५ साल कार्तिक २८ गते ललितपुरलाई विश्वको ३५औं कला नगरी घोषणा गरेको थियो । घोषणा हुनेबितिक्कै मेयर महर्जनले आफ्नो चुनावी घोषणापत्रअनुसार काउन्सिलले सो सो घोषणा गरेको भनी प्रचार गर्न शुरू गर्नुभएको थियो ।

‘प्रचारसँगै काम पनि अघि बढाएको भए धेरै आपत्ति गर्नुपर्ने विषय थिएन । तर, घोषणाअनुरूप ललितपुरको हस्तकलाको विकासको लागि सिन्कोसमेत भाँचेनन् अरू त के दुई वर्षको प्रगति विवरणसमेत महानगरपालिकाले काउन्सिलमा बुझाउन सकेन । यसबाट ललितपुरसँगै नेपालको पनि बेइज्जत हुनपुग्यो’ –काउन्सिलबाट सो घोषणा गराउन अन्तर्राष्ट्रियस्तरमा पहलकदमी गर्नुहुने नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्यले भन्नुभयो ।

घोषणाअनुरूप हस्तकलाको विकासमा महानगरपालिका जिम्मेवार र गम्भीर नभएपछि ललितपुरलाई कला नगरीको सूचीबाट अहिले हटाउने तयारी भइरहेको पनि पूर्व अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

हस्तकलासम्बन्धी विभिन्न सभा, बैठकमा मेयर महर्जनले हस्तकला व्यवसायीहरूलाई ‘म यस विषयमा विज्ञ होइन । तपाईंहरूले जे भन्नुहुन्छ, त्यही गर्छु’ भनेर भन्ने गरेको सम्झिँदै महासंघका पूर्वउपाध्यक्ष रविन शाक्यले भन्नुभयो– ‘कहिले हँसाएर, कहिले मिठा कुरा गरेर त कहिले महिनौं दिन समय नदिएर चार वर्ष आलटाल गर्दै बिताउनुभयो । हस्तकलाको घोषणा महानगरपालिकाको लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात भने झैं साबित हुुनपुग्यो ।’

हरेक काम पनि मैले गरें भन्ने मेयर महर्जनको शैलीप्रति टिप्पणी गर्दै २०७४ सालमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवारी दिनुभएका दिपेश महर्जनले भन्नुभयो ‘अगाडिदेखि नै भइरहेको कुरालाई मैले बनाएँ भन्नलाई लाज सरम पनि हँुदैन ? त्यसो हो भने नेपाल नै मैले बनाएँ भने पनि भयो नि ।’

कला संस्कृति, सम्पदा पुनःनिर्माण, सुशासन, सहकार्यको काममा र राजनीतिक रूपमा मेयर महर्जनको भूमिका सकारात्मक नभएको बताउँदै माओवादी केन्द्रका नेता महर्जनले भन्नुभयो – ‘सडक छेउमा मेयर आउनुभन्दा अघि नै रूख बिरुवा थिए।उहाँले पानी हाल्नुभयो । लोप भएका संस्कृति चलाउन स्थानीयले पहल गर्दै थिए । सम्पदा पुनःनिर्माण गर्न स्थानीयहरू लागिरहेका थिए । स्थानीयको ध्यानाकर्षणपछि मेयरले त्यसमा सहयोग गर्नुभयो होला । तर, आफैंले वृक्षरोपण गरेको आफैंले संस्कृति चलाएको, सम्पदा पुनःनिर्माण गरेको भनी प्रचारबाजी गर्नुभयो । साइकल लेन पनि त्यस्तै कुरो छ । भइरहेको सडकमा रेखा तान्दैमा साइकल लेन हुन्छ ? खै छुट्टै सडक बनाएको ?

अर्कोतर्फ मेयर महर्जनले चक्रपथभन्दा बाहिरका साविकका धापाखेल, हरिसिद्धि, खोकना र बुङ्गमती क्षेत्रलाई खासै प्राथमिकतामा नराखेको पनि माओवादी केन्द्रका नेता महर्जनको भनाइ रहेको छ ।

भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा महानगरपालिकाले प्राथमिकता नराखेको साझा पार्टीबाट उपमेयरमा उम्मेदवार दिनुभएका हालका वागमती प्रदेश सभा सदस्य शोभा शाक्यले बताउनुभयो । एकाधबाहेक पर्याप्त मात्रामा सांस्कृतिक सम्पदा संरक्षण नभएको बताउँदै शाक्यले भन्नुभयो– ‘त्यसमाथि बहाःबहीहरूको पुनःनिर्माण र संरक्षणमा निकै बेवास्ता गरेको अनुभव सबैले गरेको छ ।’

‘ललितपुरलाई चिनाउने बौद्ध विहारको पुनःनिर्माण वा त्यससँग सम्बन्धित काममा बजेट विनियोजितलाई उहाँले प्राथमिकतामा राख्नुभएन । पाँच वर्षको एकचोटी हुने सम्यक महादान पर्वमा ५ लाख रुपियाँ लिन स्थानीयलाई महाभारत युद्ध नै लड्नुपर्ने सरह भयो ।’ प्रदेश सभा सदस्य शाक्यले भन्नुभयो ।

संस्कृति, सम्पदा र अन्य सामूहिक हितमा लागिरहेका सरोकारवालालाई जुन रूपमा प्रोत्साहित गर्नुपर्दथ्यो, त्यो उहाँले गर्न सक्नुभएन ।’ प्रदेश सभा सदस्य शाक्यले भन्नुभयो – समग्रमा एउटा संकिर्ण, सुँघुरे घेरैबाट सोच्ने भएकोले विकासको बाहक जनता भन्ने मान्यतालाई उहाँले बुझ्न चाहनुभएन ।’

मेयर महर्जनले वर्षौंसम्म कार्यपालिका बैठक नराखी महानगरपालिकालाई गैरकानुनी र एकलौटी तवरमा सञ्चालन गर्ने परिपाटी बसालेको नेकपा (एमोल) का केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो । मेयर महर्जनसँग ३ सय २६ मतको अन्तरले पराजित हुनुभएका व्यञ्जनकारका अनुसार पाँच वर्षमा महानगरपालिकाले अनेक बेथिति र विसंगतिपूर्ण काम गरेको छ ।

‘नवदुर्गा नाचलाई दिँदै आएको २ लाख ५० हजारलाई बढाएर ३ लाख पुर्याउन, सम्यक महादानलाई पाँच लाख रुपियाँ दिन, यहाँका सम्पदा बनाउन बजेट नभएको भन्ने मेयर महर्जनले चितवनमा रङ्गशाला बनाउन २० लाख रुपियाँ दिएको पनि सबैलाई थाहा भएकै कुरो हो । सडकमा साइकल लेनका नाममा जथाभावी रेखा तानेर करोडौं पैसा खाएको पनि देखिएकै हो । साइकल लेनमाथि नै सवारी पार्किङ गरेर रकम असुल गरेको पनि थाहा छ ।’ केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारले भन्नुभयो । नेता व्यञ्जनकारको दृष्टिमा मेयर महर्जनमा सबैलाई मिलाएर अघि बढ्ने, कुरो सुन्ने, सहकार्य गर्ने लोकतान्त्रिक चरित्र र संस्कार छैन ।’ पाँच वर्षमा महानगरपालिकाले गरेका एकपछि अर्को घटनाक्रमले यही स्वभाव उजागर गरेको छ ।’ नेता व्यञ्जनकारले भन्नुभयो ।

ठूलठूला योजना अलपत्र परे पनि केही ससाना काममा भने महानगरपालिकाको ध्यान गएको छ । नगरभित्र, विद्युत्, टेलिफोन, केबुल तारलाई भूमिगत गर्ने, घरधनीलाई ब्लक नम्बर वितरण गर्ने जस्ता काम भएका छन् । कार्यालयलाई अपांगता मैत्री बनाउने, खुल्ला पार्क संरक्षण तथा बनाउने र इलेक्ट्रिकल बिल्डिङ पर्मिट सिस्टम लागु गरिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनेका महानगरपालिकाका ७० वटा पाटी पौवाको वडा समितिको समेत बजेट र पहलमा पुनर्निमाण भएकोे छ । घोषणापत्रमा रहेका ९० प्रतिशत काम सम्पन्न गरेको बताउँदै मेयर महर्जनले भन्नुभयो –घोषणापत्रमा नपरेका बाँकी १० प्रतिशत लोकप्रिय कामहरू गरेका छौं । स्मार्ट सिटी बनाउन जे जति पूर्वाधार खडा गर्नुपर्र्ने हो, त्यो जम्मै काम भएको छ । मेरो कार्यकाल निकै सफल रहयो ।’

मेयर महर्जनको दाबीप्रति स्थानीयको भने प्रश्नै प्रश्न गर्छन् । झट्ट हेर्दा सहजै देखिने एक दुई वटा कामको आधारमा महानगरपालिकाको काम राम्रो भन्न सकिएला । राजधानीसँग जोडिएको महानगरपालिकाले जति काम गर्नुपर्ने हो, त्यसको केही अंश पनि काम गर्न सकेन ।’ ललितपुरका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व अजरमान जोशीले भन्नुभयो ।

मेयर महर्जनले २०७४ सालको निर्वाचनमा आफू निर्वाचित भएको १० दिनमा ललितपुरलाई धुलो मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको सम्झिदै ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो – भाषणपिछें स्मार्ट उच्चारण गर्न रुचाउने मेयर महर्जनको काम गराई शैली भने हचुवा खालको रहेको छ । एकतर्फी प्रचारबाजी गर्दै आत्मप्रशंसामा रमाउनु भनेको निरंकुश चरित्र हो ।’

प्रतिक्रिया दिनुहोस्