सबैले अनुभूत गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री शर्मा



काठमाडौं (नेस) ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । उहाँले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताउनुभयो ।

नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको बृहत् आर्थिक बहस कार्यक्रममाा बोल्दै उहाँले भन्नुभयो– ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं’ उहाँले भन्नुभयो ।

अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रूप दिने दाबी गर्नुभयो । ‘म बजेटमार्फत किसानको बाँझो खेततर्फ फर्कन चाहन्छु, त्यता नफर्की उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिँदैन भन्ने लाग्छ’ उहाँले भन्नुभयो– ‘निर्यातलाई अब बिस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा सम्भावना छ ।’

चालु आबको ८ महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताउनुभयो । चालु आबको ८ महिनाससम्ममा निर्यातले नयाँ कीर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रूपियाँको निर्यात भएको थियो । जुन अघिल्लो वर्षको भन्दा ८२ दशमलव ९० प्रतिशत बढी हो ।

उहाँले बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर सुझाव पनि माग्नुभएको थियो । ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पुँजी निर्माण गर्नुपर्नेछ । तर, गर्ने कसरी ? मलाई यस विषयमा सुझाव चाहिएको छ’ –उहाँले भन्नुभयो । उहाँले बाह्य कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरूले व्यक्तिगत रूपमा आफ्नो बारेमा नकारात्मक टिप्पणी गरेको बताउनुभयो ।

भदौ २५मा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालु आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्यभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुने स्थिति रहेको उहाँले दाबी गर्नुभयो ।

‘तर, बजेट घोषणालगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे वर्षात्ले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातमुखी अर्थतन्त्रलाई पनि असर गरेको छ’, उहाँले भन्नुभयो– ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको विषय सबैले बुझ्नुपर्छ ।

उहाँले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिनुभयो । साथै, ६–७ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा सञ्चित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताउनुभयो । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बाह्य तत्वको असरका कारण अर्थतन्त्र दबाब परेको बताउनुभयो ।

उहाँले देशभित्रै उत्पादन र रोजगारी वृद्धि गर्नुपर्ने बताउनुभयो । ‘केही वस्तुको आयातमा प्रतिबन्ध गर्न र आयातमा थप कडाई गर्न विभिन्न क्षेत्रबाट सुझाव आए पनि अर्थतन्त्रलाई सकेसम्म खुल्ला छाड्नुपर्छ, नियन्त्रणा गर्नु हुँदैन भन्ने सरकारको नीति छ’ –उहाँले भन्नुभयो ।

कार्यक्रममा आर्थिक संघका अध्यक्ष तथा वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले दुई अंकको आर्थिक वृद्धिदरसमेत सम्भव भएको भन्दै अर्थतन्त्रलाई बिस्तार गर्न सुझाव दिनुभएको थियो । उहाँले क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायतबाट पुँजी पलायन भइरहेको भन्दै नियमनका लागि सशक्त कदम चाल्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा अर्थशास्त्रीहरू प्राडा गोविन्द नेपाल, डा. पोषराज पाण्डे, केशव आचार्य र व्यवसायी पवन गोल्यानले विभिन्न सुझाव पेस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्