चिनियाँ प्रविधिको प्रयोगमार्फत मनाङमा सडक मर्मत



मनाङ ।

गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेसीशहर–चामे सडक मर्मतको कार्य भइरहेको छ । सडक विभागद्वारा पहिलोपटक गण्डकी प्रदेशको मनाङ जिल्लामा चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान गर्ने कार्य भइरहेको छ ।

डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागी करीब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा रहेको छ ।

मनाङमा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो । ‘अब यस कार्यको प्राविधिक, आर्थिकलगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ’ –आयोजना प्रमुख पन्तले भन्नुभयो ।

‘सडक बन्नेबित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यो प्रविधि मनाङजस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरूमा एकदम उपयोगी हुने देखिन्छ’ –नासों गाउँपालिका–१ तालका स्थानीय अन्द्रे गुरुङले भन्नुभयो । ‘यस प्रविधिबाट सडक ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाइन्छ र कमप्याक्सन पछि अरू सतहमा नटासिने भएकाले ढलानपछि हप्तौं कुर्नुपर्ने बाध्यता हुँदैन’ –उहाँले भन्नुभयो ।

मनाङका सांसद पोल्देन छोपाङ गुरुङले यही वर्ष आफूले नै नेतृत्व गरी भ्राताङको भीरमा ४५ दिनमा बाटो खुलाएको र ७ वर्ष पहिले उक्त बाटो खुल्न १४ महिनाभन्दा बढी समय लगाएको स्मरण गर्दै भन्नुभयो– ‘मनाङको लाइफलाइनको रूपमा रहेको सडकमा नयाँ प्रविधिको प्रयोग गरी फटाफट गरिएको काम अहिलेको आवश्यकता हो ।’

सांसद गुरुङले भन्नुभयो– ‘नयाँ प्रविधि, दृढ इच्छाशक्तिसहित इमान्दार भएर काम भए यहाँको जस्तो चट्टानी भूगोल भए पनि कम खर्चमा नै मनाङ विकास गर्न सकिने आफू निर्वाचित भएर आएपछि जोड दिन थालेको र फलस्वरूप विकासको गति अगाडि बढेको छ ।’

मनाङको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे–बेंसीशहर–चामे सडकमा धेरै सुधार भएको र अझै तीव्र गतिमा काम अघि बढाउने योजना रहेको आयोजना प्रमुख पन्तले बताउनुभयो ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भीरमा बम ब्लास्टिङ गरेर सहजरूपमा यातायात सञ्चालन भएको छ । डुम्रे–बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेंसीशहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्