खिल्ली उडाउँदै ‘बालमैत्री गाउँ’ : पाँच सय बालबालिका जोखिमपूर्ण श्रममा



रोशन पराजुली
हेटौंडा ।

२०७६ पुस २८ गते तामझामसाथ नेपालको पहिलो ‘बालमैत्री स्थानीय शासन अवलम्बन’ गरेको मकवानपुरको मनहरी गाउँपालिका र दोस्रो बकैया गाउँपालिकाका सयौं बालबालिका जोखिमपूर्ण श्रम गरिरहेको पाइएको छ । सिविन बालहेल्पलाइन नेपालले गरेको अध्ययनमा नेपालको पहिलो बालमैत्री गाउँपालिका मनहरीमा कानुनले अवैध भनेको बालश्रम भइरहेको पाइएको हो ।

यसले ती पालिकाहरुले ‘बालमैत्री’कै खिल्ली उडाएको र ‘बालमैत्री’ घोषणाका लागि अनुमति दिने निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको स्पष्ट भएको छ । पहिलो बालमैत्री मनहरी गाउँपालिकाका २, ४, ६ र ८ नम्बर वडामा ७ हजार १४ बालबालिकामा गरिएको अध्ययनबाट ३ सय ५१ बालबालिका बालश्रममा रहेको देखिएको सिविन बालहेल्पलाइन नेपाल मकवानपुरले जनाएको छ । नेपालकै दोस्रो बालमैत्री गाउ“पालिका घोषित बकैयामा पनि १ सय ४७ बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य भएको अध्ययनले देखाएको छ । बकैया गाउँपालिकाका सबै वडामा गरिएको अध्ययनमा सबै वडामा गरी १ सय ४७ बालबालिकाले श्रम गरिरहेको पाइएको छ ।

बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ वटा सूचक पूरा भएको हुनुपर्छ । मापदण्डमा १७ सूचक सत्प्रतिशत हासिल गर्नुपर्छ । जसमा २२ सूचकमा न्यूनतम ८० प्रतिशत हासिल हुनुपर्ने हुन्छ । जबकि, सबै मापदण्ड पूरा गरेको भन्दै नेपालकै पहिलो र दोस्रो बालमैत्री गाउँपालिका घोषित यी २ गाउँपालिकाका ४ सय ९८ बालबालिका जोखिमपूर्ण श्रम गर्न विभिन्न कारणले बाध्य भएको अध्ययनले देखाएको छ ।

बाल हेल्पलाइनले तयार पारेको प्रतिवेदनअनुसार मनहरी गाउँपालिकामा २ सय ८६ जना आर्थिक कारण, २१ घरेलु हिंसाका कारण, आर्थिक सहयोगका लागि परिवारबाट दिइएको दबाबले ८ जना, रोजगारदाताद्वारा प्रभावित पारेर १९ जना, पढाइमा रुचि नभएर १७ जना बालबालिका श्रम गर्न बाध्य भएको जनाइएको छ । बालश्रमिकमध्ये विवाहित ११ र अविवाहित ३ सय ४० जना छन् । बालश्रममा लागेका बालक २ सय ३९ र बालिका १ सय १२ जना छन् । मनहरी गाउँपालिकाभित्र १ सय ४४ जना र मनहरी गाउँपालिकाबाहिर २ सय ७ जना बालबालिका श्रम गरिरहेको तथ्यांकमा उल्लेख छ ।

सिविन नेपालले मनहरीका ४ वडाका ७ हजार बालबालिकामा सर्वेक्षण गरेको थियो । मनहरीको २ र ४ नम्बर वडाका बढी बालबालिका गलैंचा कारखानामा काम गरिरहेको सर्वेक्षणले देखाएको सिविन प्रमुख झवीन्द्र ज्ञवालीले जानकारी दिनुभयो । ६ नम्बर वडाका घरेलु बालश्रम, गलैंचा कारखाना र यातायात क्षेत्रमा बढी बालबालिका कार्यरत रहेको ज्ञवालीले बताउनुभयो ।

८ नम्बर वडाका बालबालिका घरेलु श्रम र यातायात क्षेत्रमा बढी छन् । घरेलु श्रममा रहेकामध्ये आफ्नै घरमा ३४ जना, आफन्तको घरमा १४ जना र केही बालबालिका अपरिचित व्यक्तिको घरमा काम गरिरहेका छन् । ती बालबालिका विद्यालय जान नपाएको अध्ययनले देखाएको सिविनले जनाएको छ ।

अध्ययन गरिएका बालबालिकामध्ये उमेर समूहअन्तर्गत ६ देखि १० वर्षका ११ जना, ११ देखि १५ वर्ष उमेर समूहका १ सय ३५ जना, १६ देखि १८ वर्ष उमेर समूहका २ सय ५ जना छन् । सिविनले अध्ययनपश्चात् प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएअनुसार वर्तमान अवस्थामा काम छाड्ने बालबालिका २ सय ३७ र तत्काल काम नछाड्ने योजना बनाएका बालबालिका १ सय १४ रहेको सिविन मकवानपुर प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालकै दोस्रो बालमैत्री गाउँपालिका बकैयाले माघ २९ गते बालमैत्री स्थानीय शासन अवलम्बन गरेको पहिलो वार्षिकोत्सव मनाएको छ । बालबालिकाको सम्पूर्ण हकअधिकार संरक्षण गरी गाउँपालिका बालमैत्री घोषणा भएको वार्षिकोत्सव मनाइरहँदा त्यहाँका १ सय ४७ बालबालिका जोखिमबहन गरेर श्रम गर्न बाध्य रहेको पाइएको छ । अध्ययनअनुसार बकैया गाउँपालिकाका ८० बालबालिका काठमाडौं, ललितपुर, भक्तपुर, धादिङलगायत जिल्लामा गलैंचा कारखाना र इँटा भट्टामा श्रमिकका रूपमा कार्यरत छन् । होटल, सहचालक, ग्यारेजलगायत क्षेत्रमा ६७ बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रमको नीतिगत निर्णयमा मकवानपुरगढी गाउँपालिकालाई २०७८ मंसिरभित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने निर्णय गरिएको थियो । बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाका लागि बालमैत्री गाउँपालिका घोषणा गर्न स्थानीय शासन कार्यान्वय निर्देशिका–२०७८ अनुसार ५१ वटा सूचकमा रहेर काम गरिएको गढी गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले दाबी गर्नुभयो । कुल २५ हजार १ सय ५ जनसंख्या भएको गढीमा ५ हजार ३ घरधुरी छन् । जसमा बालबालिकाको संख्या ८ हजार २ सय ९६ छ । ८ वटा वडा रहेको गाउँपालिकामा ३९ सामुदायिक र १ संस्थागत गरी ४० विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्