नागरिकको स्वास्थ्य गण्डकीको पहिलो प्राथमिकतामा



लमजुङ ।

आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गरेको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले बताउनुभयो । लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको ११औं साधरणसभा एवं सातौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै मन्त्री विश्वकर्माले अहिले विश्वव्यापी कोभिड महामारीको प्रभाव परिरहेका बेला विकास निर्माण भन्दा जनताको जिउधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । विकास निर्माण दुई/चार वर्षपछि गरे पनि फरक नपर्ने तर उपचार नपाउँदा ज्यानै जान सक्ने भएकाले सरकारले स्वास्थ्यलाई पहिलो प्रथमिकतामा राखेको उहाँको भनाइ छ ।

‘गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका सबै गरिब, विपन्न समुदायमा पनि स्वास्थ्य सहज पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ’, मन्त्री विश्वकर्मा भन्नुहुन्छ– ‘महिलाका स्तन क्यान्सर, पाठेघर क्यान्सर, दीर्घ रोग, निःशुल्क रगत उपलब्धलगायतका कार्यक्रम ल्याएको र केही कार्यक्रम लागू समेत भइसकेको छ ।’

विश्वव्यापी कोरोना महामारीका बेला कोभिड रोकथाम, उपचार र व्यवस्थापनका लागि नमुना सामुदायिक अस्पतालले पुर्याएको सहयोग र सहकार्य प्रशंसायोग्य भएको उहाँले बताउनुभयो । समुदायबाट सञ्चालित अस्पताल सञ्चालनका लागि आइपरेका चुनौती सामना गर्न र अझै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकार थप सहकार्यका लागि तयार रहेको विश्वकर्माको कथन छ ।

प्रतिक्रिया दिनुहोस्