विकास निर्माणमा सहयोग गर्दा मेयर–उपमेयर अभिनन्दित



काभ्रे ।

टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेको भन्दै नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गरिएको छ । यामिडोल टोल सुधार समितिले बुधबार उहाँहरूलाई सम्मान गरेको हो ।

‘बनेपा नगरपालिका–९ स्थित माथिल्लो नयाँ बस्तीमा आधारभूत आवश्यकताका ९९ प्रतिशत विकास सम्पन्न गर्न सहयोग गरेकाले उहाँहरूलाई सम्मान गरिएको यामिडोल टोल सुधार समितिका अध्यक्ष ऋषिराम गौतमले बताउनुभयो । यामिडोल टोल सुधार समितिअन्तर्गत २ सय ५० घरधुरी छन् । जसमा खानेपानी, ढल व्यवस्थापन, पक्की सडकअन्तर्गत कालोपत्रे र ढलान, ढुंगा सोलिङ, ग्राभेलिङलगायतका कार्य सम्पन्न भएको उहाँको भनाइ ।

बनेपा नगरपालिकाले नियमित फोहोर संकलनका लागि व्यवस्थापन गरेको ट्रिपरका कारण सरसफाइमा समेत सहजता भएको उपभोक्ता समितिका अध्यक्ष नरहरि चौलागार्इंको कथन छ । पाँच वर्षको अवधिमा मुख्य सडकबाहेक टोल विकासका लागि नगरपालिकाले १ करोड ५० लाखभन्दा धेरै रकम खर्च गरेको छ भने स्थानीय सहभागिता पनि अन्य टोलमा भन्दा धेरै रहेको छ । नगर प्रमुख बादे र उपप्रमुख सापकोटालाई टोलबासीले ५–५ किलोको माला लगाइदिएर अभिनन्दन गरेका थिए ।

‘जनप्रतिनधि मात्रै होइन, स्थानीयको सक्रिय सहभागिताले विकास सम्भव भएको हो’, नगर प्रमख बादेले भन्नुहुन्छ– ‘जनताले विश्वास गरे, हामीले विकास निर्माणमा सहयोग ग¥यौं ।’ नगरबासीसँग गरिएका प्रतिवद्धता पूरा भएका उपप्रमुख सापकाटाको कथन छ । नेकपा एमाले ९ नम्वर वडा कमिटी अध्यक्ष विक्रम प्रजापतिले वडाका सबै टोलहरुलाई समृद्ध बनाउने योजनाअनुरूप काम गरेको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारीहरु, टोल कमिटीका सदस्यहरु, वडा सचिव उद्धव तिमल्सिना, टोल सुधार समितिका अध्यक्ष ऋषिराम गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै, नेकपा एमाले बनेपा नगरपालिका–९ को माथिल्लो नयाँ बस्तीमा गोविन्द परियारको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा उपाध्यक्ष किरण मैनाली, सचिव सुलोचना तिमल्सिना, सदस्यहरु नवराज गौतम, पार्वती मैनालीलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्