प्रधानमन्त्री देउवाद्वारा भर्चुअल माध्यमबाट शालिक र भवन उद्घाटन



मुगु, (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगुको सदरमुकाम गमगढीमा नवनिर्मित शालिक र बीपी स्मृति भवनको भर्चुअल माध्यमबाट अनावरण गर्नुभएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकामस्थित अदालत चोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अद्र्धकद शालिकको अनावरण र बीपी स्मृति भवनको उहाँले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्नुभएको हो ।

भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले दूरदराजबाट प्रजातन्त्रका लागि लडेको र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा नेपाली कांग्रेस मुगुका तत्कालीन पार्टी सभापति स्वर्गीय बखतबहादुर शाहीलाई सम्मान गर्दै सालिक बनाएकाले आफूसहित सिंगो कांग्रेस खुसी भएको बताउनुुभएको थियो । नगरपालिकाकै सहयोगमा नवनिर्मित दुईतले बीपी स्मृति भवनबाट बीपीले देखेको समाजवादको सपना मुगु कांग्रेसले सफल बनाउन कार्य गर्नेसमेत आफूले विश्वास लिएको उहाँको भनाइ थियो ।

शालिक अनावरण गरिएका स्वर्गीय बखतबहादुर शाहीलाई ०५८ साल माघ ३ गते राति घरमा खाना खाइरहेका वेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकताले गोली हानी हत्या गरेका थिए । अनावरित शालिक ६ लाख ५० हजार र बीपी स्मृति भवन श्रमदानसहित करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । द्वन्द्वकालमा मारिएका शाहीको शालिक निर्माणले शहीदको सच्चा सम्मान भएको नेपाली कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्