विकाससँगै रोजगारी पाउँदा हायु समुदाय दंग



हरिवन ।

सर्लाहीको हरिवन नगरपालिका–१ केराबारीका बासिन्दालाई बर्षाको समयमा कच्ची सडक बिग्रिएपछि एउटै चिन्ता हुन्थ्यो– गाउँघरमा बिरामी हुँदा अस्पतालसम्म कसरी पु¥याउने ? घर अगाडि सडक निर्माण भए पनि वर्षाको समयमा यातायातको साधन पनि बन्द हुन्थ्यो ।

सडक विग्रिएपछि कैयौंपटक यहाँका बासिन्दाले बिरामीलाई घण्टौ बाकेरै अस्पताल पुर्याएका धेरै घटना छन् । केराबारीमा लोपउन्मुख हायु समुदायको बसोबास रहेको छ । झण्डै ३५ घरभन्दा बढी हायु समुदायको बसोबास रहेको यस गाउँमा १५ वर्षअघि नै सडक निर्माण गरिएको थियो । हिउँदको समयमा यातायात सञ्चालन हुने गरे पनि वर्षाको समयमा पनि हायु समुदायले सास्ती झेल्दै आएका थिए ।

हरिवन बजार नजिकै रहे पनि सडक बिग्रिएर गाडी नचल्दा छोटो बाटो पनि लामो हुने गरेको हरिवन नगरपालिका–१ केराबारीकी अस्मिताकुमारी राई (हायु) बताउनुहन्छ । गाउँका बासिन्दाकै सक्रियतामा मोटरबाटो बने पनि वर्षाको समयमा नचल्दा खेप्दै आएको सास्ती भने अहिले हटेको छ । घुमारो र उकालो सडकमा ढुंगा सोलिङ गरेपछि निकै ठूलो राहत भएको बताउँदै राई भन्नुहन्छ–‘हाम्रो लागि यो सडकमा ढुंगा सोलिङ भएपछि निकै ठूलो सुविधा पुगेको छ ।’

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत कार्यक्रम सञ्चालन भएपछि यहाँका बासिन्दाले रोजगारीसँगै सडक निर्माण गर्ने अवसर पाएका छन् । थोरै बजेटमा पनि स्थानीयलाई सहभागी गराएर राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण यहाँ देखन सकिन्छ ।

रामबहादुर राईको घरदेखि समरबहादुर राईको घरसम्म ढुंगा सोलिङ गर्ने काम स्थानीय उपभोक्ता समितिबाट सम्पन्न भएको छ । स्थानीय करुणा हायु विकाससँगै रोजगारी पाउँदा जीविका चलाउन समेत सहज भएको बताउनुहुन्छ । ‘कोभिडका बेला रोजगारी गुमाएर बसेका थियौं, त्यही बेला सडक निर्माण गर्ने कार्यक्रम सञ्चालन भयो’, उहाँले भन्नुहुन्छ– ‘हाम्रो घरअगाडिको सडक आफैंले बनाउन पायौं ।’

हरिवन नगरपालिकाभित्र सञ्चालित श्रममूलक कार्यक्रम प्रभावकारी बनेको छ । वर्षाको समयमा हिँड्नसमेत कठिन हुने सडकमा अहिले सोलिङ गरेपछि राम्रो भएको स्थानीय छत्र राई (हायु) बताउनुहुन्छ । वर्षामा हिँड्नै कठिन हुने बाटो बनेपछि हामी खुसी छौं ।’ –उहाँले भन्नुभयो ।

गत आर्थिक बर्ष २०७७/०७८ मा यस नगरपालिकाभित्र ४ करोड लगानीमा ३४ वटा योजना सञ्चालन गरिएको थियो । छनोट गरिएका सबै योजना कार्यान्वयन समितिमार्फत कार्यान्वयन भएको बताउँदै शहरी शासकीय तथा पूर्वाधार आयोजनाका अनुगमन तथा मूल्याङ्कन कल्स्टर १ का इन्जिनियर महेश अधिकारी भननुहुन्छ– ‘आयोजनामार्फत गत वर्ष ८ सय ३० जनाले श्रममूलक रोजगारी पाएका थिए ।’

गाउँघरमा बिरामी पर्दा बिरामी अस्पतालसम्म लैजान सहज भएको नेपाल शहरी शासकीय पूर्वाधार आयोजना कार्यान्वय समितिका अध्यक्ष विणुमाया राई बताउनुहुन्छ । त्यसै गरी,, केरावारीस्थित शम्भु राईको घरदेखि रामबाबु राईको घरसम्म ढुंगा सोलिङ गर्ने कार्यक्रमले यहाँका बासिन्दा उत्साहित बनेका छन् ।

सर्लाही हरिवन गरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसाईं विकास निर्माणमा स्थानीय बासिन्दाको साझेदारी महत्वपूर्ण हुने बताउनुहुन्छ । उहाँले स्थानीयकै सहभागितामा विकास निर्माणको काम अघि बढाउँदा मर्मत सम्भार र संरक्षणमा स्थानीयले दायित्व र जिम्मेवारी बोध गर्ने गरेको बताउनुभयो । हरिवान चोकबाट केराबारी हुँदै सिन्धुलीको क्यानखोलासम्म झण्डै १६ किलोमिटर सडकको निर्माण गरिए पनि स्तरउन्नति नहुँदा वर्षाको समयमा यातायात चलाउन कठिनाई हुँदै आएको छ । हायु समुदायले आगामी दिनमा पनि आयोजनामार्फत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछन् ।

कोभिडका कारण रोजगारी गुमाएकालाई आयोजनामार्फत सञ्चालित कार्यक्रमले निकै राहत मिलेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाका निर्देशक परीक्षित कडरिया बताउनुहुन्छ । ‘श्रममूलक कार्यक्रम सञ्चालन भएपछि स्थानीयले गाउँघरमा नै रोजगारी पाएका छन्, स्थानीयबाट गठन हुने उपभोक्ता समितिबाट काम हुँदा निर्माण भएको संरचनामा स्थानीयको अपनत्व पनि बढेको छ ।’ –उहाँको भनाइ छ ।

आयोजनाले कोरोनाका कारण रोजगारी गुमाएका एकल महिला, अपाङ्गता भएका परिवारका सदस्य र जोखिममा रहेका परिवारका सदस्यलाई पहिलो प्राथमिकता दिएर रोजगारी दिने नीतिअनुरुप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्