सहकारीका सदस्यलाई उद्यमशिलता तालिम



बुटवल ।

उद्यमशिलता विना गरिने पेसा व्यवसाय सफल नहुने भन्दै सहकारीका सेयर सदस्यहरूलाई सिप सिकाउने लक्ष्यसहित एक हप्ते तालिम प्रदान गरिएको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आयोजना तथा प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को सहआयोजनामा शनिबारदेखि बुटवलमा १ हप्ते उद्यमशिलता विकास तालिम सञ्चालन भएको छ ।

तालिममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले हरेक पेसा व्यवसायको दर्तादेखि सञ्चालनसम्मका प्रक्रिया गर्नका लागि पनि सिप जरुरी हुने भएकाले उद्यमशिलता लिएकाहरूको व्यवसाय सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्रका उपसचिव अमृत आचार्यले उद्योग कलकारखाना खोलेर मात्र सफल नहुने भन्दै सिप र ज्ञानबिना गरिने कुनै पनि व्यवसाय फस्टाउन नसक्ने दाबी गर्नुभयो । उप–सचिव आचार्यले उद्यमशिलता सिकेकाहरूले बनाएका योजना सार्थक र दीर्घकालीन रूपमा टिकाउ हुने धारणा राख्नुभयो ।

प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष विष्णु पुरीले तालिम लिएकाहरूले त्यसलाई व्यवहारमा पालना गरेमात्र तालिमको उपादेयता हुने बताउनुभयो ।प्रतिवद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले सहकारीका सेयर सदस्यहरूलाई प्रदान गरिएको तालिमसँगै पेसा व्यवसाय गर्नका लागि आवश्यक परेमा आर्थिंक लगानीसमेत उपलब्ध गराउन सकिने धारणा राख्नुभयो । उहाँले सिकेको सिपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

चैत १८ गतेसम्म सञ्चालन हुन उद्यमशिलता विकास तालिममा ३१ जना सहकारीका सेयर सदस्यहरूको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंका शाखा अधिकृत शालिकराम भट्टराई ,नासु नारायण भुसाललगायतले तालिम प्रदान गर्नुभएको सहकारीका व्यवस्थापक ऋषिराम भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्