डढेलोका कारण तराईमा वायु प्रदूण

पीरो धूँवाले सास फेर्नै गाह्रो



सर्लाही ।

वनमा लागेको डढेलोका कारण तराईमा वायु प्रदूण निकै बढेको छ । केही दिनदेखि सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लामा पर्ने चारकोसे झाडी र चुरेक्षेत्रको वनमा लगातार लागेको डढेलोले वायुमण्डल धूलो र धूँवामय बनेको हो ।

वन क्षेत्रमा लागेको डढेलो र त्यसबाट निस्केको धूँवाको मुस्लोले तराईको आकाश नदेखिने गरी ढाकेको छ । दिउँसोपख हावा चल्न थालेपछि डढेलोबाट निस्किएको खरानीको धूलो र धूँवाका कारण वायु प्रदूषण हुँदा स्थानीय बासिन्दा हैरान भएका छन् । पीरो धूँवा र खरानीको धूलोका कारण स्थानीय बासिन्दाको आँखा पोल्ने, सासफेर्न गाह्रो हुने जस्ता समस्या देखिन थालेको छ । तीन सातादेखि लगातार लागेको डढेलोले मध्यतराईमा पर्ने चारकोसे झाडीको राष्ट्रिय वन, साझेदारी वन, चक्कला वन सखाप भएको छ । दिनभरि वनमा लागेको डढेलोको धूँवा र खरानीका कारण साँझपख जंगल छेउको बस्ती ढाक्ने गरेको स्थानीय पुरुष ढुङ्गेलले गुनासो गर्नुभयो ।

‘वनमा लागेको डढेलोको धूँवा फैलिएर गाउँमा बसिसक्नुभएन, दिउँसो त हावा चल्छ, साँझपख र राति हावा नचल्दा धूँवाले आँखा–नाक पीरो भएर हैरान भयो । कति दिन यस्तो पीडा खपेर बस्नु, हुस्सु लागेको जस्तै तुवालो र धूलोले आकाश ढाक्छ, हावा नचलेका बेला त कहाँबाट सास फेर्नु जस्तै मुस्किल हुन्छ’, उहाँ भन्नुहुन्छ– ‘पानी परेको भए यस्तो तुवालो लाग्दैनथ्योे होला, वन्यजन्तु जंगलमा बस्न नसकेर गाउँ पस्न थालेका छन् ।’

सर्लाही खण्डमा पर्ने मुर्तिया, घुर्कौली, फूलजोड, बाँके र उत्तरी चुरेक्षेत्रका चुरे जंगलमा लगातार तीन हप्तादेखि डढेलो लागिरहेको छ । सुखा मौसम हावाहुरीको समयमा यसरी नै प्रत्येक वर्ष वनमा डढेलो लाग्ने गर्छ । डढेलो नियन्त्रणका लागि पूर्वतयारी नहुँदा त्यसबाट वन, वन्यजन्तु, जैविक विविधतामाथि नराम्रो असर पर्ने गरेको विज्ञहरूको भनाइ छ । डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन वन कार्यालयले भूमिका निर्वाह गर्न नसक्दा वन जंगल डढेलोको चपेटामा पर्ने गरेको हो ।
डढेलो नियन्त्रणका लागि विज्ञसहितको पूर्वतयारी, सावधानी र नागरिकमा चेतना नहुँदा प्रत्येक वर्ष यसरी नै सामुदायिक वन, साझेदारी वन, कबुलियत वनमा डढेलो लाग्ने गरेको सहायक वन अधिकृत चन्द्रप्रकाश यादवले बताउनुभयो ।

‘घाँस दाउरा लिन जंगल जानेले डढेलो लगाउँछन्, वनमा वन्यजन्तुको चोरी शिकार गर्नेले पनि आगो लगाउँछन्, वर्षमा दुईपटक वनमा डढेलो लाग्छ, हामीसँग अग्नि नियन्त्रणका लागि कुनै भरपर्दो साधन र दक्ष जनशक्ति छैन । हावाहुरीको बेला माटो र स्याउलाको भरमा डढेलो निभाउन जाँदा ज्यान पनि जान सक्छ ।’ –उहाँको भनाइ छ ।

लगातारको डढेलोले वन विनास भएसँगै वायु प्रदूषण हुँदा दैनिक जनजीवनमा असर पुगेको छ । चुरे क्षेत्रमा दिउँसोपख चल्ने तीव्रगतिको हावाहुरीका कारण जंगलका छेउछाउक बस्तीमा आगो पस्ने डर रहेको स्थानीयको भनाइ छ । भिरालो जग्गा र रुखका सुकेका पातका कारण चुरे क्षेत्रमा छिटो डढेलो फैलिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्