शिलान्यास भएको २८ वर्षपछि खुल्यो सडकको ट्रयाक



सल्यान ।

सल्यानको लुहाम–काभ्रा–कालीमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको शिल्यान्यास भएको २८ वर्षपछि ट्रयाक खुलेको छ । २०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो ।

शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालीमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी चलेका छन् । पश्चिम दक्षिणकै मेरुदण्डका रूपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने कालिमाटी गाउँपालिका–१ दलपुरेका टोपबहादुर भण्डारी बताउनुहुन्छ । सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न निकै सहज भएको उहाँको भनाइ छ । ‘सीधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानुपथ्र्यो तर अब ३/४ घण्टामै सुर्खेत पुग्न सकिने भएको छ ।’ –भण्डारीले भन्नुभयो ।

सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरबाही, जनयुद्धको प्रभावलगायतका कारण वषौंदेखि रोकिँदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको अर्का स्थानीय वेदप्रसाद केसी बताउनुहुन्छ । लुहाम, काभ्रा–कालीमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्रयाक खुलेको धेरै भए पनि बाँकी ट्रयाक खोल्न वर्षौं लागे पनि अहिले पूर्णता पाएको उहाँको भनाइ छ । साविकको जिल्ला विकास समिति हुँदा देखि नै ट्रयाक खोल्न बजेट विनियोजन हुने गरेको भए पनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन ।

४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहामदेखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्रयाक ओपनसहित स्तरोन्नतिको काम शुरु भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले बताउनुभयो । प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत रहेको लुहाम, काभ्रा कालीमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता पाएको उहाँको भनाइ छ ।

प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नतिअन्तर्गत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान समेत भइसकेको कार्यालयले जनाएको छ । ट्रयाक ओपनको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने र सामूहिक भावनाबाट अघि बढ्न जरुरी रहेको इन्जिनियर पुन बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्