कमजोरी लुकाउन सीईओ घिमिरेको राजीनामा !



बुटवल ।

लुम्बिनी प्रदेश सरकारद्वारा गठित प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित कमजोरीलाई ढाकछोप गर्न पदबाट राजीनामा गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभएको छ । नेपाल समाचारपत्रसँगको टेलिफोन वार्तामा उहाँले सो बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकाले कार्यकारी अधिकृत घिमिरेलाई थप पदीय एवं आर्थिक अनियमितताको अनुसन्धानसँगै कारबाहीको तयारी गरिरहेका बेलामा आफ्नो कमजोरीलाई ढाकछोप गर्न नाटकीय ढंगबाट चोखिन सोमबार राजीनामा दिएका उहाँको कथन छ । कार्यकारी अधिकृत घिमिरेले सोमबार दिउँसो प्रेस नोट जारी गरी राजीनामा दिनुभएको थियो ।

लुम्बिनी प्रदेश सरकारले घिमिरेले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्दा नै करार सम्झौतामा अब कुनै पनि हालतमा पदीय आचरणमा रही काम गर्ने गरी प्रतिबद्धता र शपथ लिएको थियो । यसको उपेक्षा गर्दै उहाँले विभिन्न निर्माण तथा ठेक्का प्रक्रियामा ठेकेदारहरुसँग आर्थिक बार्गेनिङ गर्ने, आफूलाई कमिसन नआएमा निर्माणको काममा प्रभावित नै हुने गरी पदको दुरुपयोग गरेको भन्दै लुम्बिनी प्रदेश सरकारले करिब २ महिनायता हरेक क्रियाकलाप नजिकबाट अनुसन्धान गरिरहेको शर्मा बताउनुहुन्छ । अनुसन्धानमा आफैं प्राधिकरण प्रमुख नै विभिन्न व्यावसायीसँग बार्गेनिङ गर्ने, आफूलाई आर्थिक लाभ नभएमा ठेक्कासमेत प्रभावित गर्ने, नैतिक आचरणहीन काम गरेकाले घिमिरेलाई कारबाहीको तयारी सरकारले गरेको थियो ।

‘लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेन्डरको प्राविधिक रूपले जाँचबुच गर्ने उनै सीईओे हुन्’, शर्मा भन्नुहुन्छ– ‘त्यसमा प्राविधिक रूपमा त्रुटि भएको भन्दै रद्द गर्ने र अगाडि बढ्न आदेश दिएकोमा घिमिरेले आफू चोखो बन्नका लागि सरकारलाई आरोप लगाएर राजनीनामा दिएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै ठेकेदारहरुसँग मिलेर प्राविधिक रूपमा लागत बढाएर घिमिरेले ठूलो रकम मागेको जनगुनासो आएपछि अदालतमै विचाराधीन रहेको मुद्दाकै समयमा सरकारलाई दोष लगाएर भागेको निष्कर्ष सरकारको रहको प्रवक्ता शर्माले बताउनुभयो । ‘प्राविधिक रूपमा चेक जाँच गर्ने कुरा सीईओको नै हुने ठेक्कामा चलखेल गरेको कुरा थाहाँ पायौं र तपाईंबाट भएको कमजोरीका स्वीकारेर रद्द गरेर जाऔं भन्दा उल्टै राजनीनामा दिए ।’ –उहाँको स्पष्टोक्ति छ ।

योमात्र होइन प्रदेशको राजनधानीको गुरुयोजना निर्माणलगायत भौतिक संरचना निर्माणमा पनि कम चासो दिएको, आफ्नो पदीय जिम्मेवारीप्रति जिम्मेवार नबनेपछि लिखित, मौखिक स्पष्टीकरण लिने र सन्तोषजनक जवाफ नआएमा कारबाही गर्ने तयारी सरकारको रहेको थाहा पाएपछि नाटकीय रूपमा आफू ठीक भएको झुटो सावित गर्न राजीनामा दिएको शर्मा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्