स्वास्थ्य सेवाका लागि ‘फेमिली फोल्डर’ एप्लिकेसन



राजविराज ।

प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न मधेस प्रदेश सरकारले ‘फेमिली फोल्डर’ नामक डिजिटल एप्लिकेसन प्रयोगमा ल्याएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य निर्देशनालयले सो एप्लिकेसन प्रयोगमा ल्याएको हो ।

आम नागरिकको स्वास्थ्यसँग जोडिएको समस्या समाधानका लागि सरकारबाट प्रदान गरिने सेवाको सुनिश्चितता तथा सेवा प्रवद्र्धन एवं स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी योजना निर्माण गरी तथ्यांक दुरुस्त राख्ने उद्देश्यले सो डिजिटल एप्लिकेसन प्रयोगमा ल्याइएको स्वास्थ्य निर्देशक विजयकुमार झाले बताउनुभयो । उहाँका अनुसार सो एप्लिकेसन पहिलो वर्षमा प्रदेशका ८ वटै जिल्लाका दुई/दुईवटा स्थानीय तह छनोट गरी प्रयोगमा ल्याइएको छ । जसअनुसार गत आइतबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमानगर कंकालिनी नगरपालिकामा एकैसाथ यो कार्यक्रम लागू गरिएको हो ।

प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले तिलाठी कोइलाडी गाउँपालिकामा र सामाजिक विकासमन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकामासो एप्लिकेसनको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमअन्तर्गत दुवै स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्थालाई ट्याब उपलब्ध गराइएको छ । एप्लिकेसनमा प्रत्येक परिवारको स्वास्थ्य, शिक्षा र रोजगारसम्बन्धी विवरणकासाथै खोपलगायत स्वास्थ्य सेवासम्बन्धी विवरण र सेवा पाइने समय, स्थान र मितिका बारेमा सर्वसाधारणलाई जानकारी उपलब्ध हुने गरी अपडेट गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्