प्रहरीद्वारा अवैध अफिम खेती नष्ट



जाजरकोट, (नेस) ।

जाजरकोट प्रहरीले अवैध अफिम खेती नष्ट गरेको छ । नलगाड नगरपालिका–९ बासकोट र तात्रगाँउमा करिब ३० कठ्ठा जमिनमा लगाएको अवैध अफिम खेती नष्ट गरेको हो ।

अवैध अफिम खेती गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर रानामगरको कमान्डमा २, इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी हवल्दार मानबहादुर केसीको कमान्डमा ६ र अस्थायी प्रहरी पोस्ट मैदेबाट २ जना गरी जम्मा १० जनाको प्रहरी टोलीले अवैध अफिमका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अवैध चिजवस्तुले समाजमा अराजकता सिर्जना, नागरिकको ज्यान जाने समुदायमा नागरिक त्रसित हुने भएकाले न्यूनीकरणका लागि नागरिक सजग हुनुपर्ने प्रहरी निरीक्षक शिव क्षेत्री बताउनुहुन्छ । घरेलु मदिरा, लागूऔषध सेवनले घरेलु हिंसा बढ्ने विकृति विसंगति हुने भएकाले अवैधरूपमा लगाएका नेपाल सरकारले बन्देज गरेका कार्य न्यूनीकरण गर्न नागरिक समाजको सहयोग अपरिहार्य भएकाले नेपाल प्रहरीलाई सहयोग गर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्