बेलिब्रिजले जोड्यो हुम्ला र मुगुलाई



मुगु ।

मुगु जिल्लाको कर्णाली नदीमाथि स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखिएसँगै हुम्ला र मुगु जिल्ला सडक सञ्जालमा जोडिएको छ । नगर प्रमुख हरिजंग शाहीले आइतबार उद्घाटन गरेका हुन् ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नं ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा बेलिब्रिज राखेको हो । छायाँनाथ रारा–१ देखि हुम्ला जिल्ला चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणले सडक बनाए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयले सडक बने पनि यातायातको सुविधा लिन सकेका थिएनन् । तत्कालीन जिल्ला विकास समिति हाल संघीय सरकारको मातहतमा करिव ६ करोडको ठेक्का गरेर मुगु–हुम्ला लिंक रोडको मुगु कणाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाएको थियो । तर, प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेस्की लिएर लामो समयदेखि गुमनाम भएको भयो ।

संघ र प्रदेश सरकारको आसमा बस्दा बनेको सडकसमेत जीर्ण हुने अवस्था आएपछि छायाँनाथ रारा नगरपालिकाले करिब ६ करोड ३ लाख २१ हजार १ सय ५७ लागत स्टमेटमध्ये ५ करोड २० लाख ५५ हजार ९ सय २ रुपयाँमा बेलिब्रिज बनाउने गरि २०७७ पुस २९ गते जलप/रविचक्र जेभी भरतपुर–८ चितवनको निर्माण कम्पनीसँग ठेक्का सम्झौता गर्यो ।

सम्झौताबमोजिम निर्माणकार्य सम्पन्न गरी आइतबाट विधिवतरूपमा पुलको उद्द्घाटन गरिएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले बताउनुभयो । कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ सालमा पक्की पुल निर्माणस्थलमै पुगेर ठेकदारलाई पुल बनाउन लगाउने, नबनाए ठेक्का रद्द गरी पेस्की असुलउपर गरेर नयाँ ठेक्का खोल्ने बताए पनि कुनै सुनुवाइ भएको थिएन ।

पुल उद्घाटन भएसँगै सवारी तथा मालवाहक साधन हुम्लासम्म चल्ने गरेका छन् । पुल बनेसँगै छायाँनाथ रारा–१३ र १४ पाइने स्याउ, सिमी, ओखर जडीबुटीले बजार पाउन थालेको वडा नं १३ का वडाध्यक्ष चक्रबहादुर सावतले बताउनुभयो । कृषकले मात्र होइन पुल बनेसँगै पर्यटन क्षेत्रको पनि विकास हुने अपेक्षा गरिएको छ । १ रुपियाँमा अंकित चंखेली हिमाल, दूघ ताल, थार्प मक्ष्टो थान, जस्ता पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्न सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्