निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न



काठमाडौं (नेस) ।

तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा, तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा ३ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्य शिविरमा २ हजार २ सय ६ जनाको आँखा जाँच गएिकोमा अन्य उपचारबाहेक ३ सय ५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको तिलगंगा आंखा प्रतिष्ठानले जनाएको छ ।

निजगढ नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा गत फाल्गुण २ गते प्रस्तावित तिलगंगा निजगढ सामुदायिक आँखा अस्पताल भवनको शिलान्यास गर्नुका साथै निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा सामुदायिक आँखा केन्द्रको उद्घाटनपश्चात् नगरपालिकालगायत छिमेकी जिल्लाहरू बारा, पर्सा, रौतहट, मकवानपुर र सर्लाहीमा मोतिबिन्दु छनौट शिविरहरू सञ्चालन गरी शल्यक्रिया गरिने बिरामीहरूलाई निजगढ शिविरमा ल्यााइएको थियो ।

शल्यक्रिया शिविरमा प्रतिष्ठानका वरिष्ठ कन्सलटेन्ट नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्यालका साथै हेटौडा सामुदायिक आँखा अस्पतालका प्रमुख तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. सुुनिल थकालीको टोली तीन दिने आँखा उपचार तथा शल्यक्रियाको नेतृत्व गर्नुभएको थियो ।

सरकारले गरेको स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मासिन दृष्टिविहीन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरू दृष्टिविहीन छन् । यसमा पनि ५० वर्षमाथिका अनुमानित २ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कुल दृष्टिविहीनहीमध्ये ६६ प्रतिशतको दृष्टिविहीतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहीनता रोकथाम गर्न सकिने खालको रहेको नेपाल नेत्रज्योति संघले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्