१ हजार ८७६ परिवारले पुनर्निर्माणको पैसा पाएनन्



काभ्रे ।

सरकारले जिल्लाका भूकम्पपीडितले निर्माण गरेको आवासको पैसा दिएको छैन । पटकपटक सरकारलाई ताकेता गर्दा सुनेको नसुनेकै गरेको जिल्लास्थित कार्यालयले जानकारी दिएको छ ।

आवास निर्माण गरेर रकम नपाउने लाभग्राही १ हजार ८ सय ७६ जना तेस्रो किस्ताका पीडित छन् भने ६ सय २९ जना दोस्रो किस्ताका छन् । सरकारले रकम दिन्छु घर निर्माण गर्नु भन्ने निर्देशन पछि पुनर्निमाण गरेका पीडितहरू पैसा नपाएपछि पीडामा परेका छन् । ‘सरकारले रकम दिन्छु घर बनाउ भन्यो’, तेमाल गाउँपालिका पाँचका गणबहादुर दोर्जेले भन्नुभयो– ‘पहिले घर बनाउन सकिएन, अहिले ऋण गरेर सरकारले पैसो दिन्छु भनेकाले घर बनायौं पैसा दिएन ।’ उनी जस्ता तेमालका दोस्रो किस्ताका ६० जना र तेस्रो किस्ताका १ सय ८० जना छन् ।

सरकारले भूकम्प पीडितलाई दिनुपर्ने पैसा अझै निकासा नभएको जिल्लास्थित आवास तथा पुनर्निर्माण इकाइले जानकारी दिएको छ । बनेपा नगरपालिकामा दोस्रो किस्ता प्राप्त गर्न बाँकी ३० घर धुरी छन् भने तेस्रो किस्ता लिन १ सय ७ घर धुरी बाँकी छन् । त्यस्तै पनौती नगरपालिकामा ९० घर परिवारको दोस्रो किस्ता र २ सय ५ घर परिवारको तेस्रो किस्ताबापतको रकम भुक्तानी हुन बाँकी छ । धुलिखेल नगरपालिकामा ३२ जना दोस्रो र ४५ जना तेस्रो किस्ता लिनबाट वञ्चित भएका छन् ।

पाँचखाल नगरपालिमा १ सय १० दोस्रो र २ सय ४३ जनाको तेस्रो किस्ता लिन बाँकी छ । नमोबुद्ध नगरपालिमा ८० जनाको दोस्रो किस्ता र २ सय १० जनाको तेस्रो किस्ता बाँकी छ । मण्डनदेउपुर नगरपालिमा ४० जनाको दोस्रो र १ सय ७० जनाको तेस्रो किस्ता बाँकी छ । बेथानचोक गाउँपालिकामा ८० जनाको दोस्रो र १ सय ३१ जनाको तेस्रो किस्ता बाँकी छ । महाभारत गाउँपालिकामा ७ जनाको दोस्रो र १५ जनाको तेस्रो किस्ता बाँकी छ । सबैभन्दा कम सोही गाउँपालिकामा हो ।

त्यस्तै, खानिखोला गाउँपालिकामा २० जानाको दोस्रो र ३० जनाको तेस्रो किस्ता बाँकी छ । तेमालमा ६० दोस्रो र १ सय ८० जनाको तेस्रो किस्ता बाँकी छ । रोशी गाउँपालिकाको ४० जनाको दोस्रो र १ सय ८० जनाको तेस्रो किस्ता बाँकी छ । भुम्लु गाउँपालिकामा १० जनाको दोस्रो र ५० जनाको तेस्रो किस्ता बाँकी छ । चौरीदेउराली गाउँपालिकामा ३० जनाको दोस्रो र १ सय ५० जनाको तेस्रो किस्ता रकम बाँकी छ । जिल्लामा ६ सय २९ घर परिवारको दोस्रो र १ हजार ८ सय ७६ घर परिवारको तेस्रो किस्ता रकम भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्