खुल्यो सर्वसाधारणका लागि गद्दी बैठक



काठमाडौं ।

राजधानीको वसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार गद्दी बैठक सर्वसाधारणका लागि खुला भएसँगै नेपाली नागरिक मात्र नभई विश्वभरका पर्यटकले शाहकालका १३ पुस्ते राजाको इतिहास जान्ने अवसर पाउनेछन् ।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको कार्यकालमा सन् १९०८ मा निर्माण भएको विश्वकै चर्चितमध्ये एक गद्दी बैठकको हनुमानढोका दरबार संग्रहालयका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हिजो मंगलबार उद्घाटन गर्नुभएको हो ।

डेढ महिनाअघि नै खुला गर्ने तयारी भएको बैठक कक्ष कोभिडका कारण रोकिएको थियो । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गद्दी बैठकलाई अमेरिकी सरकारको संस्कृति संरक्षणसम्बन्धी राजदूत कोषबाट ७ लाख रुपियाँ सहयोग प्राप्त भएको थियो । गद्दी बैठक पुनर्निर्माण आठ महिनामा सम्पन्न भएको छ ।

नियो क्लासिकल शैलीमा निर्मित गरिएको गद्दी बैठकको ३ पटकसम्म स्वरूप परिवर्तन भइसकेको छ । यसअघि बेलायत सरकारले यसको पुनर्निर्माण गरेको थियो । गद्दीको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र सजाइएको छ । पहिलोपटक खुला गरिएको गद्दी बैठकमा बेल्जियमबाट ल्याइएका झुमरहरू, पृथ्वीनारायण शाहको एकीकरणदेखि राजतन्त्र, प्रजातन्त्र हँुदै गणतन्त्रसम्मका दस्तावेज हेर्न पाइन्छ ।

‘हनुमानढोका दरबार संग्रहालय अवलोकन गर्न आउने पर्यटकलाई अतिरिक्त शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका छौं’, संग्रहालय प्रमुख खनालले भन्नुभयो– ‘गद्दी बैठकको निर्माण सम्पन्न गरेर २०७५ असार १३ गते अमेरिकी राजदूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि गएको इन्द्रजात्रामा जीवितदेवी कुमारीको दर्शन गर्न खुला गरिएको थियो ।’

‘विगतमा राज्यको महत्वपूर्ण बैठकका लागि यस कक्षको प्रयोग गरिने इतिहासले बताउँछ । अन्तिमपटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिइएको प्रमाण पाइएको छ’ –खनाल भन्नुहुन्छ । गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरू राखिएको छ । बैठकमा पृथ्वीनारायण शाहले उपत्यका हमला गर्दा प्रयोग गरिएका हतियार र बन्दुक पनि हेर्न पाइन्छ ।

संग्रहालय प्रमुख खनालले कामै नलाग्ने अवस्थामा रहेको तल्लो तला पुनर्निर्माण गरी प्रदर्शनी कक्ष बनाउँदा संग्रहालयमा नयाँ कक्ष तयार भएको बताउनुभएको छ । भूकम्पले नौतले दरबार ध्वस्त भएपछि त्यहाँका सामग्री ढुकुटी कक्षमा राखिएको छ । संग्रहालयमा नयाँ समग्रीले प्रवेश पाएपछि दर्शकको घुइँचो लाग्ने अनुमान खनालको छ । चीन सरकारको सहयोगमा पुनर्निर्माण शुरू भएको नौतले दरबार हालसम्म सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्