प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव छल्कियो



फाइल तस्बिर

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताउनुभएन ।

भारत भ्रमणको एजेन्डा वा सम्भावित एजेन्डाबारे पत्रकारले पटकपटक सोधेपछि आजित भएर प्रवक्ता लम्सालले भन्नुभयो– ‘कृपया यस्तो प्रश्न नसोधेर सहयोग गरिदिनुहोला ।’ त्यस्तै भ्रमण दलको संख्याका विषयमा सोधिएको जिज्ञासामा पनि उहाँले अनभिज्ञता प्रकट गर्नुभएको थियो । हुन त हामीकहाँ प्रधानमन्त्रीको विदेश भ्रमणमा भ्रमणको अन्तिम दिनमा समेत भ्रमण दलमा सदस्य थपिने प्रचलन छ । पूर्वशिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले सन् २००६ मा तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा २ घण्टा अघिसम्म पनि भ्रमण दलका सदस्य थपिएको स्मरण गर्दै भन्नुभयो– ‘उच्चस्तरीय भ्रमणमा भ्रमण दलको सदस्य भ्रमणकै दिनमा पनि थपघट हुने गरेको छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच ती भूभागलाई लिएर विवाद सिर्जना भएको छ । विवादित भूभागबारे वार्ताबाट समस्या समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै भारतले नेपालको नयाँ नक्सा स्वीकार नगर्ने प्रतिक्रिया दिएको थियो । विवादकै बीचमा विवादित भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक सडक विस्तारको कार्य अगाडि बढाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । उक्त विषयमा छलफल गर्न नेपालले भारतसँग पटकपटक उच्च स्तरीय राजनीतिक बैठक बस्न आग्रह गरे तापनि भारतले आलटाल गर्दै आएको छ । यसपटकको भ्रमणको एजेन्डमा उक्त विषय पनि समावेश छ कि भनेर राखिएको जिज्ञासामा प्रवक्ता लम्सालले भन्नुभयो–‘छिमेकी मुलुकसँग छलफल गर्नुपर्ने पक्कै पनि धेरै मुद्दा छन् । सीमाको विषय पनि महत्वपूर्ण छ, वार्ता हुन्छ होला । तर मेरो जानकारीमा छैन ।’

गत असार २९ मा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको प्रधानमन्त्री बनेपछिको यो पहिलो भारत भ्रमण हो । त्यति मात्रै होइन, कोरोनाका कारण पनि लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता हुन नसकिरहेका बेलामा हुन लागेको यो भ्रमण अत्यन्तै महत्वपूर्ण र अर्थपूर्ण हुने भएकाले एजेन्डा पनि त्यहीअनुरुप तय भएको हुनुपर्ने भारतका लागि पूर्वराजदूत डा. नीलाम्बर आचार्य बताउनुभयो ।

भ्रमणको एजेन्डा हाम्रो र उनीहरूको दुवैको प्राथमिकताको आधारमा तय हुने जिकिर गर्दै पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले भन्नुभयो– ‘एजेन्डा लचिलो हुने भएकाले अन्तिम समयसम्म पनि थपघट हुन सक्छ । तर हाम्रा प्राथमिकताका विषय बेलैमा तयार गरेर राख्नुपर्छ ।’

हुन त सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायका स्रोतले भ्रमणको समयमा जयनगर–जनकपुर रेल्वेको प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार हैदरावाद हाउसमा आयोजना हुने कार्यक्रममा स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुका साथै देशभर भारतले १ सय ३७ स्वास्थ्य चौकीको निर्माण गरिदिने, भक्तपुरमा हिन्दु मठ बनाउने लगायतका सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम तय भएको बताएका छन् । तर परराष्ट्र मन्त्रालयले भने अनभिज्ञता जनाएर प्रधानमन्त्री कार्यालय तथा सरोकारवाला मन्त्रालय वा निकायसँग मन्त्रालयको समन्वय हुन नसकेको आशंका गर्ने ठाउँ दिएको छ ।

दुई दिनअघि नेपाल सम्बन्धमा जानकार मानिने भारतका प्राध्यापक एस.डी. मुनीले ट्विटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा गरेको टिप्पणीलाई साँचो सावित गर्न पनि मन्त्रालयको ‘सूचना लुकाउने बानी’ले थप सहयोग पुगेको छ । प्रा. मुनीले प्रधानमन्त्री देउवाको यो भ्रमण व्यक्तिगत–राजनीतिक भएको उल्लेख गर्दै आफ्नो पार्टी नेपाली कांग्रेसको नेतृत्व पुनः हत्याउन सहयोग गरेकोमा धन्यवाद दिन र आसन्न संसदीय निर्वाचनमा भारतको सहयोगको निरन्तरता खोज्नका लागि हो भन्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्