कामपा मेयर शाक्यद्वारा बौद्ध विहार उद्घाटन



Bidhya Sundar Shakya

काठमाडौं ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आनन्द भूवन विहारको उद्घाटन गर्नुभएको छ । स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको यो विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७७ मंसिर २५ गते शिलान्यास गरेर पुनर्निर्माण थालिएको थियो ।

विहार २ चरणमा पुनर्निर्माण भइरहेको छ । ४ करोड २५ लाख रूपियाँ लागत अनुमान रहेको विहार पुनर्निर्माणको पहिलो चरणमा करिब २ करोड रूपियाँ बराबरको खर्चबाट पुनर्निर्माण भएको हो । महानगरबाट उपलब्ध हुने रकममध्ये पहिलो चरणमा उपलब्ध गराइसकिएको छ भने दोस्रो चरणको सम्झौता हुने चरणमा छ । अहिलेसम्ममा भक्तबाट करिब १ करोड ३७ लाख ८७ हजार रूपियाँ संकलन भएको छ ।

उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरेकाले २०७२ सालको भूकम्पले जीर्ण भएका धेरै सम्पदा पुनर्निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मैले लगेका कुनै पनि प्रस्ताव कार्यपालिकाको बैठक र नगर सभाबाट कहिल्यै अस्वीकृत भएनन् । सुधारका लागि सुझाव आए तर फिर्ता गर्नु परेन । यसरी भएका सर्वसम्मत निर्णयप्रति मलाई गौरव लागेको छ ।’

कामपा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विहारहरूको संरक्षणको आवश्यकता पहिचान भइसकेपछि महानगरले लगानी बढाएको बताउनुभयो । हरेक ५ वर्षमा हुने स्थानीय सरकारको निर्वाचनबाट नेतृत्व परिवर्तन गरे पनि महत्वपूर्ण योजनाहरूले निरन्तरता पाउने बताउनुभयो । महानगरबासीले तिरेको करलाई जनताकै सहुलियतका काम गरेको उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

विश्व सम्पदा क्षेत्रको काखमा रहेको विहारले थेरवादी बुद्ध शिक्षामार्फत सामाजिक सद्भाव, र शान्तिका लागि ठूलो योगदान दिएको छ । कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भौतिक पूर्वाधार, सरसफाइ, सांस्कृतिक सम्पदाको जगेर्नालगायत काममा वडा काम गर्ने क्रममा आनन्दभूवन विहार विहारको पुनर्निर्माणले सम्पदा क्षेत्रको गरिमा बढाएको बताउनुभयो ।

कार्यक्रममा विहारका प्रमुख कौडिण्य महास्थवीर, महासचिव बुद्धिमान शाक्यलगायतले महानगरमा जनप्रतिनिधि आएपछि आफूहरूले अभिभाववक प्राप्त गरेको अनुभूति गरेको धारणा राख्नुभयो ।

आनन्दभूवन विहार २०३७ सालमा निर्माण भएको विहार हो । विहारमा आवासीय भिक्षुहरूले बुद्ध शिक्षा लिइरहेका छन् । विहारमा बुद्ध पूजा, ज्ञानमाला भजन, धर्मदेशना, शील प्रार्थना, परित्राण–पाठ, पुण्यानुमोदन जस्ता कार्यहरू सञ्चालन हुँदै आएका छन् । कार्यक्रममा विहार निर्माणमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकाले प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ र वडाध्यक्ष डंगोललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्