बृहत् लोकतान्त्रिक समूहको प्रचारप्रसार उत्साहजनक



काठमाडौं ।

यही चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका प्रत्यासी बनेको बृहत् लोकतान्त्रिक प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको चुनाव प्रचारप्रसार तीव्र रूपमा अगाडि बढको छ ।

डेमोक्रेटिक्स लयर्स एसोसिएसनका उपाध्यक्ष राजु कटुवालका अनुसार उक्त समूहबाट उम्मेदवार बनेकाहरू प्रचारप्रसारका लागि नेपालको विभिन्न ठाउँमा पुग्ने क्रम जारी रहेको छ । उपाध्यक्ष कटुवालले सो समूहको प्रचारप्रसार सकी केही दिनभित्रमा नै काठमाडौं फर्कने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उक्त समूह नेपालको पश्चिमबाट पूर्वतर्फ निर्वाचन प्रचारप्रसार गर्दै अगाडि बढेको छ । सो समूहबाट अध्यक्षको उम्मेदवार भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रचारप्रसारको क्रममा आफूहरू उत्साहित भएको जानकारी दिनुभयो । सो समूह हाल सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा निर्वाचन प्रचारप्रसारको क्रममा रहेको छ ।

समूहबाट महासचिवको पदमा उम्मेदवार भएका अधिवक्ता अञ्जिता खनालले नेपालभरका कानुन व्यवसायीहरूले आफ्नो समूहको प्यानलबाट उत्साहित भएका आफूले पाएको उल्लेख गर्नुभयो । यसै गरी वागमती प्रदेशबाट उपाध्यक्षको पदका उम्मेदवार अधिवक्ता हर्कबहादुर रावलले बृहत् लोकतान्त्रिक समूहलाई नै मत दिने गरी नेपालका कानुन व्यवसायीहरूले वचन दिएका बताउनुभयो ।

लोकतान्त्रिक समूह उपत्यका बाहिर प्रचारप्रसारका लागि गएको भए पनि काठमाडौंमा समेत सो समूहसँग आबद्ध रहेको महिला कानुन व्यवसायीको समूहले निर्वाचन प्रचारप्रसारका लागि कार्यक्रमहरू आयोजना गरिरहेको छ । सो समूहले लोकतान्त्रिक समूह नै स्वतन्त्र न्यायपालिकाको हिमायती भएको उल्लेख गर्दै मतदान गर्न आह्वान गरेको बताइएको छ ।

सो समूहमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग आबद्ध कानुन व्यवसायीहरू मिली निर्वाचनको मैदानमा होमिएका छन् । डेमोक्रेटिक्स लयर्स एसोसिएसनका महासचिव लक्ष्मीदेवी रावलले निर्वाचन प्रचारप्रसारका लागि तीन वटै समूहका कानुन व्यवसायीहरू एकजुट भएर व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो ।

एसोसिएसनका उपाध्यक्ष कटुवालले यसपटकको गठबन्धनमा योग्य, इमान्दार तथा पेसामा जमेका कानुन व्यवसायीहरू निर्वाचनमा उम्मेदवार भएकाले उक्त समूहले भारी मतले विजयी हुने आफूले देखेको विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्