‘परिवर्तनको अनुभूति जनताले गर्न पाएनन्’



बुटवल ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुलुकमा भएको ठूलो परिवर्तनको अनुभूति जनताले पाउन नसकेको बताउनुभएको छ । उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको सोमवार बुटवलमा उद्घान गर्दै उहाँले सो बताउनुभएको हो ।

मुलुकको शासन व्यवस्थामा धेरै ठूलो परिवर्त भए पनि नेतृत्व तहमा रहनेहरुको वानी व्यहोरा, आचरण र दृष्टिकोणमा सोहीअनुसारको परिवर्तन आउन नसक्दा त्यसको महसुस जनताले गर्न नपाएको खातीको भनाइ छ । ‘सुन्दर भवनभित्र प्रवेश गर्दै गर्दा न्याय सम्पादनमा अनुसन्धान कर्ता, अभियोजनकर्ता र न्यायाधीशहरुले बानी व्यहोरा र आचरणमा सुधार गर्न जरुरी छ’, उहाँ भन्नुहुन्छ– न्याय क्षेत्रको सवलता, सरलता र न्यायमा सबैको पहुँच पुर्याउन राज्यले विशेष पहल गर्न र लगानीको वातावरण मिलाउन जरुरी छ ।’ तीन तहका सरकार बीचको समन्वयात्मक भूमिका जुन हिसावले हुनु पर्ने हो त्योअनुरुप हुन नसक्दा जनताले गरेको आशा, इच्छा र चाहान अनुसार काम हुन नसकेको खातीको दाबी छ ।

कार्यक्रममा उच्च अदालत बुटवलका मुख्य भई काम गर्ने न्यायाधीश नित्यानन्द पाण्डेले मानवीय एवं भौतिक संसाधनको उच्चतम प्रयोग र सदुपयोगबाट संस्थाका लक्ष्य र उपलब्धि हासिल गर्न सहज हुने धारणा राख्नुभएको थियो । चार तले नवनिर्मित भवनको कूल लागत ५ करोड ५९ लाख रुपियाँ रहेको इन्जिनियर ध्रुव पौडेलले बताउनुभयो ।

त्यस्तै, २०७६ साल मंसिर १८ गते भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको उच्च सरकारी वकिल कार्यालय बुटवलका सहन्यायाधिवक्ता मोहन सागर बश्यालले बताउनुहुन्छ । कार्यक्रममा न्यायाधिवक्ता पदम पाण्डे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी उच्च सरकारी वकिल कार्यालय बुटवलका सूचना अधिकारी लक्ष्मी न्यौपाने लगायतले न्याय क्षेत्रले दिने सेवा प्रवाहमा नयाँ भवनवाट सोच नै परिष्कृत हुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्