मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण



कास्की, (नेस) ।

मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्की माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माविको प्रांगणमा आइतबार भएको थियो ।

कास्कीका विभिन्न सरकारी विद्यालयका गरिब तथा जेहेन्दार १४ जना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई १ लाख ४० हजार छात्रवृत्तिका लागि नगद र ६ विद्यालयलाई २ लाख ४० हजार बराबरको गणितीय तथा सामाजिक शिक्षा सामग्री वितरण गरेको प्रतिष्ठानले जनाएको छ ।

शैक्षिक सामग्री पाउने विद्यालयमा माछापुच्छ्रे मावि सार्दिखोला, निष्पक्ष मावि हुम्दी, कालिका मावि कास्कीकोट, सारदा मावि माछापुच्छ्रे, विन्देश्वरी मावि तल्लाकोट र सिर्जना सामुदायिक मावि सिम्पाली रहेका रहका छन् ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, वरिष्ठ साहित्यकार सरुभक्तले विद्यालयबाट लिएको शिक्षालाई बढाउँदै गएर समाज र देशमा कहिल्यै नमेटिने कार्य गर्छु भन्ने उद्देश्य लिनुपर्ने बताउनुभयो । साथै उहांले छात्रवृत्तिमा पाएको रकम थोरै भए पनि यसको महत्व ठूलो हुने र विद्यार्थीको प्रतिभालाई प्रदान गरिएको बतानुभयो । भविष्यमा थप ऊर्जा मिलोस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिने सरुभक्तको भनाइ थियो ।

त्यस्तै, कार्यक्रमको अध्यक्षता गरेका प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले प्रतिष्ठानको उद्देश्य भनेकै कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहोउन् भन्ने रहेको बताउनुभयो । प्रतिष्ठानले कुनै निजी स्वार्थका लागि नभई समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ति र विद्यालयलाई वार्षिकरूपमा शैक्षिक सामग्री वितरण गर्दै आएको उहाँँको कथन छ । कुनै पनि विद्यालय वा विद्यार्थी आर्थिक अभावका कारण पढाइबाट बञ्चित छन् भने प्रतिष्ठान सदैव सहयोगका लागि तयार रहेको गिरीले बताउनुभयो ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका–२ का अध्यक्ष विक्रम गुरुङ, सोही पालिका–५ का अध्यक्ष जुमबहादुर गुरुङ, माछापुच्छ्रे मावि भुर्जुङखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङ, माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरी, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गाबहादुर राउत र छात्रवृत्ति पाउने विद्यार्थीको तर्फबाट अमृता लामिछानेले शुभकामना मन्तव्य राखेका थिए ।

मर्दीखोला शैक्षिक प्रतिष्ठानले २०५४ सालदेखि कार्य शुरु गरी २०५६ सालमा विधिवत् दर्ता गरेर शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । प्रतिष्ठानले पछिल्लो ३ वर्षमा शिक्षा क्षेत्रमा मात्रै १० लाख ८० हजार खर्च गरिसकेको सार्वजनिक खर्च विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्