कुशे बालमैत्री वडा घोषित



जाजरकोट, (नेस) ।

जाजरकोटको कुशे गाउँपालिकाले कुशे–१ स्याँकीलाई बालमैत्री वडा घोषणा गरेको छ । बालमैत्री स्थानीय शासन वडा समितिले ५१ वटा सूचक पूरा गरेकाले शनिबार बालमैत्री वडा घोषणा गरिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ्द चिल्ड्रेनको सहयोगमा स्याँकी बालमैत्री वडा घोषणा गरेको बालमैत्री स्थानीय शासन वडा समितिले जनाएको छ । बालबालिकामा लगानी बढाउ, बालमैत्री अभियानमा सहभागी बनौं, हामी सबैको एउटै इच्छा, बालबालिकाका लागि अनिवार्य र निःशुल्क शिक्षा जस्ता कार्यक्रम भएका थिए । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ्द चिल्ड्रेनका प्रमोद न्यौपानेले लामो समयको प्रयासपछि स्याँकीलाई बालमैत्री वडा घोषण गर्न सफल भएको वताउनुभयो ।

साझेदार निकायको सहकार्यमा बालबालिकाको क्षेत्रमा शतप्रतिशत विद्यालय भर्ना, शौचालय, पूर्ण खोप, जन्मदर्ता बालविवाह न्यूनीकरण गर्दै बालमैत्री वडा घोषण गर्न पाउँदा निकै खुसी भएको कुशे–१ का वडाध्यक्ष गोपाल नेपालीले बताउनुभयो ।

बालबालिकालाई आवश्यक सहयोग गर्दै, विकृति–विसंगति, बालविवाह, बाल हिंसा, घरेलु हिंसालगायतका क्षेत्रमा काम गरी बालमैत्री स्थानीय शासन वडा समितिसँग आवश्यक सल्लाह सुझाव लिँदै काम गरेको कुशे–१ की चण्डिका जैसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्