प्रहरीले हटायो गमगढीका अनधिकृत टहरा



मुगु ।

गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ । गत पुस १ गतेको सर्वदलीय बैठकले गरेको निर्णयअनुरूप २३ वटा काठका टहरा जनपथ प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीले हटाएका हुन् ।

कम्पनीको माथिपट्टि जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका निम्ति काठका टहरा बनाएका थिए ।सर्वपक्षीय बैठकले ६५ दिनको अवधि तोकेर स्थानीयलाई टहरा हटाउन निर्देशन जारी गरे पनि स्थानीयले अटेर गर्न थालेपछि प्रहरी लगाएर हटाउनुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । टहरा हटाएर कम्पनीको जग्गा खाली गर्न पटक–पटक सूचना जारी गर्नुका साथै माइकिङ गर्दा पनि वास्ता नगरेपछि बल प्रयोग गर्नुपरेको उहाँको भनाइ छ ।

सुरक्षाकर्मी औजार लिएर टहरा भत्काउन शुरु गरेपछि स्थानीय आफैं आएर समान ओसार्दै टहरा भत्काएर काठ, जस्तापाता लगेको सुरक्षाकर्मीको भनाइ छ । करिब ७ वर्ष यतादेखि कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापारीले व्यवसाय गर्दै आएका थिए ।

बाँझ बिसौनी सहकारीसँग सम्झौता गरी कम्पनीले टहरावालाबाट वार्षिक ७ लाख ५४ हजार भाडा उठाउने गरेको भए पनि सहकारीको सम्झौता सकिएपछि २ वर्षयतादेखि टहरावालाले भाडा नबुझाई व्यवसाय सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका निमित्त प्रमुख पुष्कर भामले बताउनुभयो ।

आफ्नै भवन निर्माण तथा घेरबार गर्नका लागि खाद्य कम्पनीले जग्गा खाली गर्न र बनेका टहरा हटाउन परिपत्र गरेको थियो । गत वर्ष डिभिजन वन कार्यालय अगाडिका एक दर्जन काठका अस्थायी टहरा हटाएका थिए । ३ वर्षदेखि टहरा बनाएर व्यापार सञ्चालन गरिए पनि खबरै नगरी टहरा भत्काउन लागेकाले आफूहरु मर्कामा परेको टहरा व्यवसायीको कथन छ ।

प्रतिक्रिया दिनुहोस्