प्रश्न : म अहिले २७ वर्षकी भएँ, विवाह भएको करिब ४ वर्ष भयो । अब सन्तान जन्माउने विचारमा छौं । हामी सागपात प्रशस्तै खान्छौँ तर अहिले सागपातमा धेरै नै विषादी हुने गरेको सुनेकी छु । यस्ता विषादीले स्वस्थ सन्तान जन्माउने क्रममा के–कस्तो प्रभाव पार्दछ ? जानकारी पाए आभारी हुने थिएँ ।
– धन कुमारी
बालीमा विषादी
नेपालमा विषादीको खुला प्रयोगको सन्दर्भलाई हेर्दा सर्वप्रथम औलो नियन्त्रणका लागि सन् १९५८ तिर विषादीको प्रयोग शुरु भएको देखिन्छ । त्यस बेला औलो फैलाउने लामखुट्टे नियन्त्रणका लागि नेपालमा व्यापक रुपमा विषादीको प्रयोग शुरु भएको थियो । पछि बालीमा लाग्ने विभिन्न रोगको नियन्त्रणका लागि विषादीको खुला प्रयोग हुन थाल्यो । अहिले नेपालमा सयौं किसिमका विषादी तथा अन्य रासायनिक वस्तुहरूको व्यापक प्रयोग गर्ने गरेको पाइन्छ ।
२०५५ सालतिर वार्षिक ५६ मेट्रिक टन मात्र आयात गरिने विषादी २०७५ सालतिर आइपुग्दा ८०९ मेट्रिक टन पुगेको छ । अहिले त्यो भन्दा अझै बढी पुगेको होला । आधुनिक तथा व्यापारिक प्रयोजनको कृषि हुने स्थानमा यो तुलनात्मक रुपमा बढी प्रयोगमा रहेको पाइन्छ । यी विषादीको प्रयोग पनि उचित तरिकाले नगरिँदा जोखिम बढी हुने हुन्छ ।
कृषिउपजलाई बढावा दिई आम्दानी वृद्धि गर्ने कुरामा मात्र ध्यान दिँदा कृषकहरूका साथै यौन तथा प्रजनन स्वास्थ्यलगायत जनस्वास्थ्यमा ठूलो असर पर्ने निश्चित नै छ । नेपालका केही स्थानमा तरकारीमा विषादीको परिमाण नाप्ने व्यवस्था गरे पनि यो पर्याप्त छैन ।
विषादीहरू प्रायजसो झारपात, कीटपतङ्ग, ढुसी वा मुसा जातिलाई नष्ट गर्न प्रयोग गर्ने गरिन्छ । नेपालको सन्दर्भमा अर्गानोक्लोरिन, अर्गानोफोस्फेट, कार्बामेटजस्ता कीटनाशकहरु विषेश महत्वका छन् । किनकि यी विषालुपन धेरै हुने र वातावरणमा लामो समयसम्म रहने किसिमका हुन्छन् । नेपालले पनि कतिपय विषादीलाई प्रतिबन्ध गरेको छ । तर पनि विदेशमा प्रतिबन्ध भइसकेका मध्ये अझै पनि कतिपय विषादीहरूको प्रयोग नेपालमा हुने गरेको अध्ययनहरूबाट पाइएको छ ।
नेपालको सन्दर्भमा धान, मकै, आलु वा उखुभन्दा तरकारी खेतीमा विषादीको प्रयोग गर्ने दर निकै बढेको देखिन्छ । बाली बजारमा लैजाने तयार भएको अवस्थामा विषादीको प्रयोग गर्ने गरेको देखिएको छ, जुन जनस्वास्थ्यका दृष्टिले निकै खतरनाक हो ।
विषादीकोे असर
रासायनिक विषादीहरु प्रकार अनुसार तुरुन्तै वा दीर्घकालीन असर पार्ने किसिमका हुन्छन् । यस्ता विषादीका प्रत्यक्ष सम्पर्कमा आउँदा पेट दुख्ने, रिँगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनुको साथै छाला तथा आँखामा समस्या आउन सक्छ ।
यस्तो स्थितिले पनि यौन क्रियाकलापमा नकारात्मक असर पार्दछ । विषादीको अत्यधिक मात्रामा सम्पर्कमा पुगिएको वा सेवन गर्न बाध्य भएको अवस्थामा ज्यान नै पनि जान सक्छ ।
दीर्घकालीन असरको कुरा गर्दा यसले विभिन्न किसिमको क्यान्सर जस्तै कि ल्युकेमिया, लिम्फोमा तथा मस्तिष्क, पौरुष ग्रन्थि, कलेजो, प्याङ्क्रियाज आदिको क्यान्सर गराउने पाइएको छ । त्यसै गरी पार्किन्सन्स, डिमेन्सियालगायतका स्नायुसम्बन्धी समस्या पनि बढाउने देखिएको छ ।
शिशुमा पनि यसको प्रभाव परेर एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर लगायतका समस्या हुने गरेको पाइएको छ । खाद्यवस्तुहरुको बोट वा फलमा प्रयोग हुने विषादीको प्रभाव वयष्क व्यक्तिभन्दा बालबालिकामा बढी हुने गर्दछ, जुन निकै गम्भीर कुरा हो ।
खाद्यवस्तुमा प्रयोग भएका विषादीले हर्मोनसम्बन्धी खराबी वा यौन विकास राम्ररी नहुनेजस्ता प्रभा व पर्ने हुन्छ ।
प्रजनन स्वास्थ्यमा असर
अर्को महत्वपूर्ण पक्ष यौन तथा प्रजनन स्वास्थ्यमा असर पर्नु हो । अहिले यस्ता विषादीले हाम्रो अन्तश्रावी प्रणाली ( इन्डोक्राइन सिस्टम) लाई नै प्रभाव पार्ने प्रमाणहरू पर्याप्त रुपमा पाइएका छन् । यस प्रकारका विषादीले गर्दा रागरस (हर्मोन)हरूको जटिल सन्तुलनमा नै उथलपुथल आउँछ र यसैका कारणले प्रजनन प्रणालीका साथै भ्रूणको विकासमा गम्भीर असर पार्न सक्छ ।
यस्ता विषादीले पुरुषको शुक्रकीटको गुणवत्तामा ह्रास ल्याउँछ । त्यसले प्रजनन क्षमता नै नहुने स्थिति अर्थात् बाँझोपन गराउन सक्छ । त्यसै गरी भ्रूणको विकासमा असर गर्ने गर्दा जन्मजात नै शारीरिक रुपमा विकलाङ्ग, मस्तिष्क विकासमा समस्या आउने हुनुका साथै खाद्यवस्तुमा प्रयोग भएका विषादीले हर्मोनसम्बन्धी खराबी वा यौन विकास राम्ररी नहुनेजस्ता प्रभाव पर्ने हुन्छ ।
गर्भावस्थाको बेलामा गर्भवती महिला यस्ता विषादीको सम्पर्कमा आएमा जन्मको बेला शिशुको मृत्यु हुने, गर्भ तुहिने, समय नै नपुगी बच्चा जन्मिने, गर्भेशिशुको वृद्धि नहुनेजस्ता असरहरू हुन्छन् । त्यसै गरी, कतिपय यस्ता विषादीले हर्मोनको जस्तै प्रभाव देखाउने हुँदा बालबालिकामा यौनावस्थामाको शुरुवात चाँडो हुने र लैंगिक अनुपात (क्भह चबतष्य) नै परिवर्तन हुने देखिएको छ ।
लिङ्गको विकास सही तारिकाले नहुने वा अण्डकोषको विकास राम्ररी नहुने समस्या पनि देखिएको छ । स्नायु प्रणालीमा प्रभाव पार्दा स्ट्रेस हर्मोन (तनाव गराउने हर्माेन) बढी रुपमा निश्रित हुँदा तनाव बढ्ने, हृदय गति बढ्ने, बेचैनी हुने, अनिद्रा हुने, चिडचिडापन हुनेजस्ता कुराले यौन जीवनमा नकारात्मक असर पर्दछ ।
यसका साथै प्रजनन वा यौन अङ्गको क्यान्सर हुनुले पनि यौन जीवनमा प्रभाव पार्ने कुरामा कुनै प्रश्न रहेन । क्यान्सर वा अन्य कुनै पनि दीर्घरोग भएको स्थितिमा त्यसको प्रत्यक्ष असर त यौन जीवनमा पर्छ नै ।
आत्महत्यामा विषादी
आर्थिक वा सामाजिक समस्याले गराउने तनाव वा निराशापनको स्थिति सहनै वा थेग्न नसक्ने स्थिति भएपछि मानिसले आत्महत्याको वाटो लिने गरेको पाउँछौं ।
यौन जीवनसँग जोडिएका समस्याले गराउने तनाव वा अन्य मानसिक समस्या आत्महत्याको एक प्रमुख कारकको रुपमा देखिएको छ । दुर्भाग्यवश हाम्रो देशमा विषादी अति सजिलैसँग बेच्न तथा किन्न पाइन्छ । नेपालको कुरा गर्दा अहिले आत्महत्या गर्ने विधिमा झुन्डिने तरिकापछि विषादीको सेवन गर्ने तरिका अपनाएको देखिन्छ ।
के गर्न सकिएला ?
हाम्रो खाना, हावा, पानी र जमिनलाई यस्ता विषादीहरूबाट मुक्त राख्नु नै दीर्घकालीन समाधानको उपाय हो । यसको लागि मुख्य त यस्ता विषादीको प्रयोग गर्ने चलन नै बन्द गर्नुपर्दछ । बालीनालीमा मात्रै होइन, हाम्रो घरभित्रै पनि अहिले विषादीको प्रयोग गर्ने चलन बढ्दो छ । यसलाई पनि रोक्न आवश्यक छ ।
यसो गर्न नसकिएको स्थितिमा पनि सरकारी निकायले कडा रुपमा नियमन र नियन्त्रण गर्नुपर्दछ । बालीमा लाग्ने कीटपतङ्गलाई नियन्त्रण गर्नै पर्ने स्थितिमा जैविक विषादी वा जैविक विधी अपनाउन सकिन्छ । व्यक्तिगत रुपमा यसबारे सजग हुनु आवश्यक छ ।
विषादीको प्रत्यक्ष प्रयोग गर्ने व्यक्ति (जस्तै कि कृषक, विषादी विक्रेता) ले सुरक्षाका पर्याप्त उपायको अवलम्बन गर्नुपर्दछ । अन्य उपभोक्ताले भने यस्ता विषादी प्रयोग भएका तरकारी, फलफूल वा अन्य खाद्यपदार्थ प्रयोग गर्न छोड्नुपर्दछ ।
रासायनिक विषादीको प्रयोग नगरिएका तरकारी वा खाद्यपदार्थको प्रयोग गर्नुपर्दछ । बारी भएमा सोमा र नभए कौसी बारीमा भएको थोर–बहुत भए पनि आफैंले उत्पादन गर्ने बानी बसाल्दा पनि विष सेवन गर्नुपर्ने स्थितिलाई एक हदसम्म कम गर्न सकिन्छ ।
त्यसै गरी मौसम अनुसारका फल्ने तरकारी वा फलफूल मात्र खाने बानी गर्नुपर्दछ, जसमा तुलनात्मक रुपमा बेमौसमीमा भन्दा कम विषादी हुने गर्दछ । यदि विषादी भएको तरकारी, फलफूल वा अन्य शंका लागेमा त्यसलाई धाराबाट बगेको पानीमा राम्ररी पखाल्ने, तातो पानीमा एकछिन् राखेर पानी फाल्ने, भिनेगर वा बेकिङ सोडा राखेको पानीमा भिजाउने, बोक्रा ताछेर खानेजस्ता कतिपय उपाय अपनाउन सक्नुहुन्छ । तपाईंले सन्तान जन्माउने बारेमा सोचिरहनुभएकोले विशेष गरी गर्भावस्थामा भने महिलाले यस्ता कुरामा अन्य बेलाको भन्दा झनै सावधानी अपनाउनुपर्दछ ।
प्रतिक्रिया