म्यादीका लागि २ हजारको आवेदन, आजदेखि छनोट हुने



बैतडी ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि बैतडीमा २ हजार बढीले आवेदन दिएका छन् । आवेदन दिएकाको छनोट प्रक्रिया चैत १५ गते (आज)देखि हुनेछ । स्थानीय तह निर्वाचन–२०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भर्नाका लागि २ हजार २४ जनाले आवेदन दिएका छन् । जसमा १ सय २७ जना महिला र १ हजार ८ सय ९७ जना पुरुष रहेका जनाइएको छ । आवेदन दिएका मध्येबाट ८ सय १४ जनालाई छनोट गरिने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने,नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।

छनोटका विभिन्न मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने, कुनै नैतिक पतन नभएको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारिरिक तथा मानसिक रूपले तन्दरुस्त रहेको, सामान्य लेखपढ गर्न जान्ने हुनुपर्नेछ । छनोटमा पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने उहाँले जनाउनुभयो ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० रुपियाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्