पहिलो चरणबाटै बहिरिए २० जना



लमजुङ ।

म्यादी प्रहरी भर्ना खुलेसँगै लमजुङमा आवेदन दिएकामध्ये २० जना पहिलो चरणमै बाहिरिएका छन् । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये उमेर समूहमा नपरेपछि पहिलो चरणमै २० जना बाहिरिएका हुन् ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड राखेको थियो । तर, जिल्लामा आवेदन दिएका मध्ये केही १८ वर्ष उमेर नपुगेका र केही ५४ वर्ष उमेर कटेको पाइएकाले शारीरिक परीक्षिणअघि नै उनीहरु बाहिरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । पहिलो चरणबाटै बाहिरिएकालाई शारीरिक परीक्षण, स्वास्थ्य परीक्षण, लिखित परीक्षालगायत केहीमा पनि सहभागिता नगराइने उहाँले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक रेग्मीका अनुसार जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि निधारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये महिला मात्रै ३ सय ९६ जना रहेका छन् । म्यादी प्रहरीका लागि लमजुङमा जिल्ला प्रहरी कार्यालय बेंसीशहर, इलाका प्रहरी भोर्लेटार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट आवेदन लिएको थियो ।

गत आइतबारदेखि जिल्लामा म्यादी प्रहरीको आवेदन खुलेको थियो । म्यादी प्रहरी भर्ना खुलेसँगै आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउनेको भीड लागेको थियो । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि लमजुङमा ९ सय ८६ जना म्यादी प्रहरी छनोट गरिने जिल्ला प्रहरी कार्यालय प्रमुख कृष्णबहादुर कार्कीले बताउनुभयो ।

आवेदन बुझाएकामध्ये पहिलो चरणमा छनोट भएकाको भोलि १५ गतेदेखि शारीरिक परीक्षण हुने उहाँको भनाइ छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि स्वास्थ्य तथा शारीरिक मापदण्ड प्रहरी जवानसरह हुने उल्लेख छ ।

भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।

सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीका लागि चैत २२ सम्म सबै परीक्षण सकेर अन्तिम नतिजा प्रकाशन गरी चैत २८ बाट प्रशिक्षण शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्