तनहुँमा म्यादी प्रहरीका लागि तेब्बर आवेदन



तनहुँ ।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ चैत्र ६ गतेदेखि चैत्र ११ गते शुक्रबार साँझसम्म आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा ३ हजार ४ सय ३९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् ।

पुरुषतर्फ २ हजार ७ सय ७८ र महिलातर्फ ६ सय ४० जनाले आवेदन दिएको प्रहरी नायव निरीक्षक शिवराज क्षत्रीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा तनहुँका लागि १ हजार २ सय ९२ जनाको दरबन्दी रहेको छ । ‘चैत १५ गतेदेखि २२ गतेभित्र छनोट प्रक्रिया सम्पन्न गरिनेछ’, उहाँले भन्नुभयो– ‘जिल्लामा मागभन्दा तेब्बर आवेदन परेको छ ।’
क्षत्रीका अनुसार म्यादी प्रहरीका लागि पूर्वम्यादी प्रहरी १ सय ७४ तथा भूपू सुरक्षाकर्मी १ सय ७५ जनाले आवेदन दिएका छन् । मापदण्डअनुरुप शारीरिक तन्दुस्ती जाँचदेखि, लिखित र अन्तर्वार्ताबाट छनोट भएकालाई चतत्र २५ गतेदेखि तालिम प्रदान गरिनेछ ।

निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीका लागि प्रहरीको जवानसरह आधारभूत तलब मासिक २२ हजार ६ सय ८० रुपियाँ हुनेछ । प्रतिव्यक्ति बढीमा ४० दिनसम्मको लागि व्यक्तिगत खातामा ३० हजार २ सय ४०, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २ सय, पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजारका दरले पारिश्रमिक उपलब्ध गराइने व्यवस्था रहेको छ ।

आवश्यकता न्यूनतम योग्यता नेपाली नागरिक हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार नठहरिएको, कुनै रानैतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको र साधारण लेखपढ गर्न जानेको हुनुपर्ने व्यवस्था गरेको छ ।

म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालमा कार्यरत रही निवृत्तभरण वा उपदान प्राप्त पूर्वसुरक्षाकर्मी तथा पूर्ववन रक्षकलाई पहिलो स्थान दिइएको छ । त्यसै गरी, विदेशी मन्त्री राष्ट्रका सुरक्षा निकायहरुका काम गरी सेवा निवृत्त नेपाली नागरिक, विगतका निर्वाचनहरुमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्