३६ वर्षपछि क्यानाडा विश्वकपमा



लन्डन, (एजेन्सी) ।

३६ वर्षपछि क्यानाडा फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । आइतबार भएको छनोट चरणको खेलमा जमैकामाथि सानदार जित निकाल्दै क्यानाडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा छनोट हुन सफल भएको हो । क्यानाडाले एक खेल बाँकी छँदै कोन्काफ क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरेको हो ।

क्यानाडा दोस्रोपटक अर्थात् ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो । यसअघि, क्यानाडा सन् १९८६ को विश्वकपमा छनोट भएको थियो । उक्त विश्वकपमा क्यानाडाले समूह चरण पार गर्न सकेको थिएन । बिएमओ फिल्ड क्यानाडामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा सायल लारिन, टाजोन बुचानान र जुनियर होइलेटले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

एकपक्षीय बनेको खेलको १३औं मिनेटमा सायल लारिनको गोलबाट क्यानडाले शुरुवाती अग्रता लिएको थियो । ४४औं मिनेटमा टाजोनले गोल गर्दै क्यानाडाको अग्रता दोब्बर पारे । त्यसपछि ८३औं मिनेटमा जुनियर होइलेटले गोल गर्दै क्यानडालाई सहज जिततर्फ अग्रसर गराए । खेलको ८८औं मिनेटमा एड्रिएन मारिएप्पाले आत्मघाती गोल गरेपछि क्यानाडाले सानदार जित निकाल्न सफल भयो ।

यो जितस“गै कोन्काफ क्षेत्रमा शीर्षस्थानमा रहेको क्यानाडाको १३ खेलबाट २८ अंक पुगेको छ । पराजित जमैकाको १३ खेलबाट ८ अंक रहेको छ । यो क्षेत्रबाट तीन टोलीले सीधै विश्वकपमा स्थान बनाउनेछ । एक टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

आइतबार राति नै भएको अर्को खेलमा इंग्लिस क्लब चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिसको ह्याट्रिक सहयोगमा अमेरिकाले पनि फिफा विश्वकप कतार २०२२ को कोन्काफ क्षेत्रको छनोटमा सानदार जित निकाल्यो । घरेलु मैदानमा अमेरिकाले पानामामाथि ५–१ को सानदार जित आत्मसात् गरेको हो । पउल एरिओला र जेसस फेरेइराले समान एक गोल थप्दा पानामाका एनिबल गोडोएले एक गोल फर्काए ।फ्लोरिडामा भएको एकपक्षीय बनेको खेलमा अमेरिकाले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । खेलको १७औं मिनेटमा पुलिसिसको पेनाल्टी गोलबाट अमेरिकाले शुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा पउल एरिओलाले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे । २७औं मिनेटमा जेससले गोल गर्दै अमेरिकाको अग्रता तेब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पुलिसिसले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अमेरिका सहज जिततर्फ अघि बढ्यो । ६५औं मिनेटमा पुलिसिसले ह्याट्रिक पूरा गर्दा अमेरिका खेलमा ५–० ले अघि बढ्यो । ८६औं मिनेटमा एनिवल गोडोएले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा अमेरिका विजयी हुन सफल भयो । यो जितसँगै अमेरिकाले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । कोन्काफ छनोटको दोस्रो स्थानमा रहेको अमेरिकाको १३ खेलबाट २५ अंक पुगेको छ । अब छनोटको अन्तिम खेलमा कोस्टारिकालाई बराबरीमा रोके पनि अमेरिकाले सोझै विश्वकपमा स्थान बनाउनेछ । अमेरिकासँग हार बेहोरेको पानामा १८ अंक जोडेर पाँचौं स्थानमा रहँदै विश्वकप छनोटबाट बाहिरिएको छ ।

त्यस्तै, अर्को खेलमा मेक्सिकोले होन्डुरसलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । मेक्सिकोको जितमा इड्सन अल्भारेजले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै मेक्सिको १३ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । पराजित होन्डुरस ४ अंक जोडेर पुछारमा रहेको छ । छनोटकै अर्को खेलमा कोस्टारिकाले इएल साल्भाडोरलाई २–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । चौथो स्थानमा रहेको कोस्टारिकाको २२ अंक छ । पराजित इएल साल्भाडोर १० अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्