काभ्रेमा ९० हजार बालबालिकाहरूलाई टाइफाइड खोप 

चैत्र २५ देखि ३० गतेसम्म अभियान


मोतीराम तिमल्सिना, काभ्रे ।

 नेपालमा खोपबाट बचाउन सकिने रोगहरूलाई शून्य अवस्थामा पु¥याउने उद्देश्यले टाइफाइड खोप अभियान सुरु भएको छ । चैत्र २५ देखि ३० गतेसम्म उक्त अभियान काभ्रेपलान्चोक जिल्लामा सुरु हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले बताए।

‘नेपालमा वर्षेनी ४ लाख ५० हजार व्यक्ति टाइफाइडबाट सङ्क्रमित भएको तथ्याङ्क छ’– वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले भन्नुभयो–‘जिल्लामा ४ हजार १ सय ४९ जना सङ्क्रमित भएका छन् ।’ सङ्क्रमित मध्ये २ हजार २ सय ६१ महिला र १ हजार ८ सय ८८ जना पुरुष छन् । यो संख्या अस्पतालमा भर्ना हुनेहरूको मात्रै हो ।

संक्रमण भएको रेकर्ड नभएका बिरामीहरूको संख्या यो भन्दा धेरै हुन सक्ने डा. पुडासैनीले बताए। टाइफाइड रोग १५ वर्ष मुनीका बालबालिकाहरुमा वर्षेनी १० हजार ९ सय ६० जनामा देखा पर्ने गरेको छ । टाईफाईडका कारण धेरै व्यक्तिहरूको अकालमा ज्यान जाने गरेको छ । सरकारले पहिलो चरणमा १५ वर्ष मूनिका सबै बालबाकिलाहरुलाई उक्त अभियानको खोप लगाउने तयारी गरेको हो । जिल्लामा यो समूह ९० हजारको हाराहारीमा छ ।

झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगहरूबाट बाबाबालिकाहरुलाई बचाउन नियमित खोप जरुरी रहेको डब्लुएचओका प्रतिनिधि डा. पवन उपाध्यायले बताए। अभियान सम्पन्न भए लगत्तै टाइफाइड विरुद्धको खोपलाई नियमित खोपमा समावेश गर्ने सरकारको तयारी रहेको छ । विश्वमै नेपाल टाइफाइड रोगको उच्च जोखिममा रहेको डा. उपाध्यायले बताए । काभ्रेपलान्चोक जिल्ला पनि उच्च जोखिममा रहेको छ । ज्यानै जोखिममा पार्न नसक्ने रोगहरु न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्ने डा.पुडासैनीले बताए ।

कार्यक्रममा जिल्लामा अभियान सञ्चालनका लागि आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण र खोप लगाउनु अघि तथा खोप लगाई सके पछिको अवस्थालाई तयारी गरिएको पुडासैनीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका कार्यवाहक अध्यक्ष विनोद न्यौपाने लगायतले बालबालिकाहरूलाई लगाउने टाइफाइड विरुद्धको खोप अभियानलाई सफल बनाउन सबै पक्षको भूमिका सकारात्मक हुनु पर्ने बताए ।

राष्ट्रिय खोप कार्यक्रम मार्फत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्न तथा खोपबाट बचाउन सकिने रोग, अपाङ्गता र मृत्युदरलाई कम गर्ने रहेको छ । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक दीपेन्द्र श्रेष्ठले स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान भइरहेको बताए ।