काठमाडौं ।
काठमाडौं उत्यकाको पहिचान बोकेको वागमती नदीलाई बचाउन नदीको उद्गमस्थलमा बाँध निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । मानवीय कारणले बागमती नदीको पहिचान नै लोभ हुने अवस्था सिर्जना भएपछि नदीमा हिउँदको समयमा पनि पानी बगाउने गरी शिवपुरी राष्ट्रिय निकुञ्जको धापमा बाँध निर्माण गरिएको हो ।
सरकारले वागमती नदीको सौन्दर्यकरण बनाउन र हिउँदको समयमा पनि पानीको बहाव कायम राख्ने मुख्य उद्देश्यसहित सात वर्षअघि बाँध निर्माणको काम शुरू गरेको थियो । चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयभन्दा तीन वर्ष ढिलो गरी बाँध निर्माणको काम सम्पन्न हुन लागेको हो ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र मुख्य एउटा जलाशय छ । सोही जलाशयलाई तीन ठाउँमा बाँध निर्माण गरिएको छ । मुख्य बाँधको उचाइ ३० मिटर रहेको छ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका अनुसार हाल बाँध निर्माण गरिएको जलाशयमा ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गर्न मिल्ने क्षमता रहेको छ । जलाशयबाट बाह्रै महिना प्रतिसेकेन्ड ४० लिटर पानी वागमती नदीमा खसाल्न सकिनेछ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले धाप ड्याम निर्माणको ९७ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार बाँकी तीन प्रतिशत काम केही समयमा नै सम्पन्ने गरेर यस वर्षबाट पानी संकलनको काम शुरू गरिनेछ । ड्याम १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । आयोजना निर्माणका लागि एसियाली विकास ऋण सहयोग छ । आयोजना काम रमन कन्स्ट्रक्सन–ग्वान्जाउ–लामा जेभी कम्पनीले गरिरहेको छ ।
वागमती सुधार आयोजना सिँचाइ इकाइका प्रमुख कृष्ण रिसालले बाँध निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘वागमती नदीमा हिउँदको समयमा पनि पानीको बहाव कायम राख्न बाँध निर्माण गरिएको हो, यस वर्षबाट वर्षाको पानी जमाउन शुरू गर्छौं ।’ करिब ४७ करोड लागतमा धाप बाँध निर्माणको काम सम्पन्न हुने लागेको उहाँले बताउनुभयो ।
काठमाडौंका लागि केही महिनाभित्र नै पुनः मेलम्चीका पानी आउने भएकाले आयोजनाले धाप बाँधबाट सुन्दरीजल हुँदै बहने पानीलाई वागमतीमा बहन दिने योजना बनाएको छ । हाल सुन्दरीजलबाट वामगती नदीमा बहने पानी खानेपानीका रूपमा प्रयोग हुँदै आएको छ । मेलम्चीको पानी काठमाडौं आउने भएपछि धाप बाँधबाट बहने पानी अब सीधै वागमती नदीमा छोडिने भएको छ ।
प्रतिक्रिया