चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो



सिन्धुपाल्चोक (नेस) ।

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । सिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट बिहीबार रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताउनुभयो । बोलपत्र पाएपछि छ महिनाअघि सिल्कले पहिलो खेपमा एक हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको सिल्क मार्केटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्