रामेछाप, (नेस) ।
रामेछापमा माछा मार्न विस्फोटक पदार्थ विस्फोट गर्दा एक जना घाइते भएका छन् । बिहीबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका ४ मा रहेको लिखु खोलामा माछा मार्ने क्रममा ३५ वर्षका टुकबहादुर श्रेष्ठ घाइते भएका हुन् ।
बिहान ८:३० बजेतिर विस्फोटक पदार्थको प्रयोग गरी माछा मार्दा उनी घाइते भएको रामेछापका प्रहरी प्रमुख डीएसपी राजकुमार थिङले बताउनुभयो । श्रेष्ठको हात, अनुहार र घाँटीमा छर्राले भेटेको उहाँको भनाइ छ । श्रेष्ठको साघुँटारमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको रामेछाप प्रहरी प्रमुख थिङले बताउनुभयो ।
घटनालगत्तै प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुली कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा, सिन्धुलीकै भद्रकाली गाउँपालिका–४ का २९ वर्षका नील लामा र सिन्धुलीकै कमलामाई नगरपालिका–४ का ५२ वर्षीय रामबहादुर विकलाई पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जनाएको छ ।











प्रतिक्रिया