बैतडी ।
बैतडीमा सातौं राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १ सय ४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा दश स्थानीय तहमा रहेका ८४ वटै वडाका १ सय ४४ क्षेत्रमा गणना गरिने भएको हो ।
जिल्ला कृषि गणनाका कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तकाअनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द, पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना कार्य हुने जनाइएको छ ।
नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ । गणनाका लागि बैतडीमा १२ सुपरीवेक्षक र ५० गणक गरेर ६२ जनाको जनशक्ति खटाइने जनाइएको छ । जनशक्तिलाई चैत २४ सम्म करारमा नियुक्त गरिसक्ने र चैत २५ गतेबाट तालिम दिइनेछ । तालिम वैशाख ३ सम्म सञ्चालन हुनेछ । तालिमपश्चात् ४५ दिनसम्म हुने मूल गणनाको कार्य वैशाख ६ गते जेठ १९ सम्म हुने कार्यालय प्रमुख पन्तले बताउनुभयो ।
गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ । यस्तै, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिंगका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ संकलन गर्ने छन् ।
कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ संकलन गरिने कार्यालयले जनाएको छ । बैतडीमा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम शुरू भएको हो ।











प्रतिक्रिया