सल्यानमा बढे क्षयरोगका बिरामी, चारको मृत्यु

0
Shares

सल्यान ।

सल्यानमा क्षयरोगका बिरामी बढ्दै गएका छन् । चेतनाको अभाव र औषधिको नियमित सेवन नगर्नाले क्षयरोगका बिरामी बढ्दै गएको पाइएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार चालू आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि माघ मसान्तसम्म १ सय ३० जना क्षयरोगका बिरामी फेला परेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

गत आर्थिक वर्ष २०७७/२०७८ मा १ सय ७५ जना नयाँ क्षयरोग पोजेटिभ भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताउनुभयो । चालू आर्थिक वर्ष सकिन अझै एक चौमासिक बाँकी रहेकाले क्षयरोगका बिरामीको संख्या अझै बढ्न सक्ने उहाँको भनाइ छ । समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिष्कृत हुने डरले लुकाउने, चेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नु जस्ता कारण क्षयरोगका बिरामीको संख्या बढ्दै गएको डिसी बताउनुहुन्छ ।

नियमित क्षयरोगीका बिरामीले उपचार र औषधि सेवन गरेमा यो रोग निको हुने सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले बताउनुभयो । यो रोगबाट भयभीत हुन नहुने तर्क गर्दै उपचारमा आएमा निको हुने उहाँको कथन छ ।

क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । दुई हप्तावा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखापर्नु यस रोगको लक्षण रहेको क्षयरोगको मुख्य लक्षण रहेको डा. सिंह बताउनुहुन्छ । यदि कसैमा यस्ता लक्षणहरू देखापरेमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न आग्रहसमेत उहाँको छ ।

बालबच्चालाई समयमै बीसीजी खोप लगाउने, पोषणयुक्त आहारमा ध्यान दिने र मुख्यतः रोग लागेको शंका हुने बित्तिकै स्वास्थ्य उपचारमा लागेर निरन्तर औषधि खाने हो भने टीबी रोग निर्मूल पार्न सकिने चिकित्सकको भनाइ छ । क्षयरोगका बिरामीलाई निःशुल्क औषधी वितरण गरिँदै आएको र औषधिको कुनै अभाव नरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।