सप्तरी ।
चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा शुरु भएको छ । राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो ।
राजविराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षतिमा भेटायो । खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै, अरनिको यादवले ५० रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दीपेश कँडेलले समान दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन ।
टस जितेर ब्याटिंग गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षतिमा १ सय ३९ रन बनायो । टिमको लागि ओपनर अमित कुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा नीरज कुमार यादवले २६ रन बनाए । खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए ।
खेलको ‘प्लेयर अफ द म्याच’ बजाज खडक वारियर्सका अरनिको यादव घोषित भए । प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले ब्याटिङ तथा उपमेयर साधना झाले बलिङ गर्दै गर्नुभएको थियो ।
प्रतिक्रिया