उम्मेदवार छनोट गर्न एमालेले बनायो ६ बुँदे मापदण्ड

घोषणापत्र मस्यौदा बनाउन कार्यदल गठन

0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न ६ बुँदे मापदण्ड तय गरेको छ । एमाले केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले उक्त मापदण्ड तय गरेको हो । बैठकले चैत मसान्तभित्र आ–आफ्नो कमिटीबाट कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न पनि मातहत कमिटीलाई निर्देशन दिएको छ ।

बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सबै तहका उम्मेदवार सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीन जनाको नाम माथिल्लो कमिटीमा लैजान केन्द्रीय कमिटीले निर्देशन दिएको जानकारी दिँदै माथिल्लो कमिटीले आवश्यकताअनुसार निर्णय गर्ने बताउनुभयो । वडा अध्यक्षको सिफारिस वडा कमिटीले र पालिका प्रमुख तथा उपप्रमुखको सिफारिस पालिका कमिटी तथा जिल्ला कमिटी हुँदै प्रदेश कमिटीले गर्ने मापदण्ड तय भएको छ । त्यस्तै, महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुखको सिफारिस जिल्ला र प्रदेशले गरेपछि केन्द्रबाट निर्णय गर्ने तय भएको रिजालले बताउनुभयो ।

पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्ने मापदण्डमा उल्लेख गरिएको छ ।

बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको ढोका बन्द नभए पनि त्यो स्थानीय आवश्यकताअनुसार हुने तर राष्ट्रिय नीति नहुने जिकिर गर्दै रिजालले एमाले एक्लै चुनाव जित्न सक्षम रहेकाले तालमेलको बारेमा केन्द्रीय कमिटी बैठकले कुनै निर्णय नगरेको बताउनुभयो ।

घोषणापत्र मस्यौदा बनाउन कार्यदल गठन
एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । केन्द्रीय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली रहेका छन् ।

प्रचार विभागका उपप्रमुख विष्णु रिजालले कार्य दललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयसमक्ष बुझाउन समय दिइएको छ । उहाँका अनुसार घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गरिने र सोही दिन ७ सय ५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गरिनेछ । घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७ सय ५३ वटै पालिकाका कमिटीका प्रतिनिधिसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने रिजालले जानकारी दिनुभयो ।

एमालेको कार्यक्रममा पाँच जना मात्र वक्ता
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै माला र खादाको प्रयोगमा रोक लगाउने भएको छ । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन केन्द्रित कार्यक्रममा विदेशबाट आयात हुने माला र खादाको धेरै खपत हुने भएकाले यसको प्रयोगमा रोक लगाउन र कार्यक्रमलाई प्रभावकारी बनाउन पाँच जनाभन्दा बढीले बोल्न नपाउने गरी कार्यक्रम गर्न निर्देशन दिनुभएको हो ।

ओलीले भन्नुभयो– ‘एउटा कार्यक्रममा पाँच जनासम्म वक्ता राखौं । यसमा व्यक्ति हेरेर होइन, नियम नै बनाऔं । खादा मालाको खात लगाउने पनि होइन । नेता भनेको सेवक हो, हाकिम होइन । आफ्नो समाजअनुकूल चल्ने र जनतासँग जोडिने व्यक्ति नेता हो ।’ ओलीले आफूलाई सबैले सहजै भेट्न सक्ने जिकिर गर्दै भन्नुभयो – ‘बीचमा थानकोट चेकपोस्ट छैन, सीधै भेट्न सबैलाई खुला छु ।’

चुनावमा पहिलो शक्ति बन्ने लक्ष्य
एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले एउटै लयका साथ जनताको घरदैलोमा जान निर्देशन दिँदै विचार, दृष्टिकोण र संगठनका हिसाबले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरू नभएको दाबी पनि गर्नुभयो । बैठकले ओलीको प्रतिवेदन पनि पारित गर्दै प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

बैठकले विभागहरूलाई पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको बताउँदै उहाँले भन्नुभयो– ‘एमालेको विधानअनुसार प्रत्येक विभागमा ३५ जना सदस्य रहने व्यवस्था छ । बैठकले सबै केन्द्रीय सदस्यलाई स्थानीय तह निर्वाचन पार्टीको पक्षमा पार्न आ–आफ्ना भूगोलमा केन्द्रित हुन निर्देशन दिने निर्णय गरेको छ ।’ रिजालका अनुसार बैठकले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि अभिलेख तयार गरेर जिम्मेवारी दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ ।

महराका स्वकीय सचिव एमाले प्रवेश
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ । माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष शर्मा आफ्नी पत्नी सीता चौधरीसहित एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै एमाले प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।