चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

‘थाती रहेका सहमति–सम्झौताहरू कार्यान्वयनको वातावरण बनाउनुपर्छ’

0
Shares

काठमाडौं ।

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आज शुक्रबार अपरान्ह नेपाल आउँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि सरकारले सुरक्षा व्यवस्था कडा पार्नुका साथै आवश्यक तयारीसमेत गरिसकेको छ ।

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच परराष्ट्र मन्त्रालयमा शनिबार हुने द्विपक्षीय वार्तामा चीनसँग पहिला भएका केही सम्झौता परिमार्जन गर्ने तयारी पनि भइसकेको बुझिएको छ । सो सम्बन्धमा जानकारी लिन नेपाल समाचारपत्रले बिहीबार परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालसँग राखेको जिज्ञासामा उहाँले अहिले जानकारी दिन नमिल्ने बताउनुभयो ।

हुन त चीनसँग वार्ता गर्नुपर्ने धेरै विषयहरू छन् । हालै मात्र संसद्बाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित भएको पृष्ठभूमिमा हुन लागेको यो भ्रमणमा एमसीसीबारे नेपाल र चीन दुवै पक्षले आफ्नो धारणा स्पष्ट गर्नुपर्ने त छँदै छ । त्यसमाथि युक्रेन आक्रमणबारे संयुक्त राष्ट्रसंघको महासभामा राखिएको ‘रुसलाई निन्दा गरिएको प्रस्ताव’मा चीनले तटस्थ बस्न रोजेको बेलामा नेपालले भने प्रस्तावमा समर्थन जनाएको थियो । यस विषयमा दुई देशबीच असमझदारी उत्पन्न नहोस् भनेर चीनसमक्ष नेपालले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने आवश्यक्ता पनि रहेको कूटनीतिज्ञहरूको बुझाइ छ ।

यी र यस्ता कूटनीतिक विषयमा सुझबुझ प्रदर्शन गरी चीनसँगको सम्बन्धलाई अझै सुमधुर बनाउन नेपालले यो भ्रमणको उपयोग गर्नुपर्नेमा दुई मत छैन । तर, देशको आर्थिक विकासका लागि चीनसँग यसअघि भएका सम्झौताहरूलाई कार्यान्वयनमा लैजान पनि सरकारले यो भ्रमणको उपयोग गर्न सक्नुपर्ने कूटनीतिज्ञहरूको सुझाव छ । चीनका लागि पूर्वराजदूत टंक कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चीनसँगको उत्तरी नाका भूकम्प, कोरोना महामारीलगायतका बहानामा अवरुद्ध छ, त्यसलाई सहज बनाउने विषयमा परिणाममुखी छलफल गर्नु जरुरी छ ।’

हुन पनि विसं २०७५ को भदौमा भारतमाथिको परनिर्भरता तोड्दै पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको थियो । उक्त सम्झौतापछि चीनले तातोपानी र रसुवागढी नाकालाई मात्र अन्तर्राष्ट्रिय नाकाको मान्यता दिँदै आएकोमा किमाथाङ्का, नेचुङग, यारी र ओलाङचुङ्गोला गरी थप ४ नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिन सहमति जनाएको थियो । त्यो सहमति पनि कार्यान्वयनमा आउन सकेको छैन ।

त्यसबाहेक विसं २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्दा राष्ट्रपति सीले नेपालको विकासका लागि ५६ अर्ब रुपियाँ अनुदान दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । सोही भ्रमणमा नेपाल–चीनबीच पूर्वाधार, कृषि, जलविद्युत्, शिक्षा र स्वास्थ्यलगायत १८ वटा समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो । तर, अझैसम्म न त चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता कार्यान्वयनमा आयो न ती समझदारीपत्रअनुसार कामहरू नै अघि बढे ।

त्यस्तै, झन्डै ५ वर्षअघि नेपालले चीनको बेल्ट एन्ड रोड अवधारणामा हस्ताक्षर गरेपछि शुरूमा नेपालले २७ वटा परियोजना छनोट गरी चीनलाई पठाएको थियो । चीनले एक अंकमा सीमित गर्न आग्रह गरेपछि त्यसमा पुनर्विचार गरी नेपालले ९ वटा परियोजनाका लागि सिफारिस गरेको थियो । तर, अझसम्म पनि दुईपक्षीय समझदारी हुन बाँकी नै रहेकाले परियोजना अघि बढ्न सकेको छैन ।

कूटनीतिज्ञ गोपाल थापाले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणमा ‘बेल्ट एन्ड रोड परियोजना’ ऋणमा लिन नसकिने कुरामा स्पष्ट पार्दै अनुदानको रूपमा लिनका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा अघि सार्नुभएको छ ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शनिबार परराष्ट्रमन्त्री खड्का र वाङबीच द्विपक्षीय वार्ता हुने पनि मन्त्रालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।