कांग्रेसको काभ्रे एकमा संसदीय समिति गठन

काभ्रे एकको संसदीय समितिले नौवटा स्थानीय तहको ६९ वडा अध्यक्ष सहित २ सय ७६ जना वडा सदस्यलाई टिकट दिन्छ


काभ्रे । 

नेपाली कांग्रेस काभ्रेले प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा संसदीय समिति गठन गरेको छ । यो समितिले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष सम्मको उमेद्वारलाई दिन्छ । जिल्लामा चुनाव प्रचारप्रसारमा आक्रमक ढंगले गाउगाउ पसेकोकांग्रेस काभ्रे क्षेत्र नम्बर एकले केन्द्रिय संसदीय समिति गठन पुर्वनै संसदीय समिति गठन गरेको छ । केन्द्रिय संसदीय समिति गठनको मुख्य एजेण्डा सहित शुक्रवार कांग्रेस केन्द्रिय समिति बैठक बस्दैछ ।

कांग्रेसले उमेद्वारलाई टिकट बाढ्न चार तहको संसदीय समिति बनाउदै छ । जसमा वडा अध्यक्ष सम्मको उमेद्वार छनौट प्रतिनिधिसभा संसदीय समितिले गर्छ भने गाउपालिकाको अध्यक्ष र उपाध्यक्षको उमेद्वार छनौट जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उमेद्वार छनौट प्रदेश संसदीय समितिले गर्छ भने महानगरपालिकाको प्रमुख र उपप्रमुखको लागि उमेद्वार छनौट केन्द्रिय संसदीय समितिले गर्छ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र सचिव संसदीय समितिको पनि सभापति र सचिव हुने व्यवस्था बमोजिम काभ्रे क्षेत्र नम्बर एकको संसदीय समितिको सभापति दिनेश लामा छन भने सचिवमा विद्यासागर लामा रहेका छन। समितिका पाच सदस्यमा गोर्खामान लामा, कमला खनाल, लालकुमार पाख्रिन, ज्ञानी तामाङ र देवराज लामा रहेको संसदीय समितिका सचिव विद्यासागर लामाले जानकारी दिनु भएको छ । यो क्षेत्रको संसदीय समितिमा पुर्व सांसदको हैसिएतमा जिल्ला सभापति तिर्थ लामा छन भने केन्द्रिय सदस्यमा गणेश लामा रहेको सचिव लामाले बताउनु भएको छ । गुटको आधारमा संसदीय समितिमा रहेका सबै संस्थापन पक्षका हुन ।

काभ्रे पतिनिधिसभा एकमा नौवटा स्थानीय तहको ६९ वडा पर्छ । जस अन्तर्गत पनौती नगरपालिकाको ७ वडा, धुलिखेल नगरपालिकाको ५ वडा, नमोवुद्ध नगरपालिकाको पुरै ११ वडा, तिमाल गाउपालिकाको ९ वडा, चौरिदेउराली गाउपालिकाको ९ वडा, रोशी गाउपालिकाको पुरै १२ वडा, महाभारत गाउपालिकाको ८ वडा, खानिखोला गाउपालिकाको ७ वडा र वेथानचोक गाउपालिकाको एउटा वडा यो क्षेत्रमा पर्छ । काभ्रे प्रतिनिधिसभा एकको संसदीय समितिले ६९ जना वडा अध्यक्ष सहित प्रत्येक वडामा चारजना सदस्यको दरले २ सय ७६ जना सदस्यको उमेद्वारलाई टिकट बाड्नु पर्छ ।

कांग्रेसको उमेद्वार छनौट प्रक्रिया अन्तर्गत सबै भन्दा पहिले वडा कार्यसमितिबाट स्थानीय तहको वडा अध्यक्षको लागि एक महिला सहित बढीमा तीन जनाको नाम सहमति सहमति नभए बहुमतको आधारमा निर्णय हुन्छ । वडा सदस्यहरुका लागि पनि एकपदको लागि एक महिला सहित तीन जनाको नाम सिफारिस हुन्छ । वडा कार्यसमितिले सिफारिस गरेको नाम गाउ÷नगर कार्यसमितिमा पठाइन्छ । गाउ-नगर कार्यसमितिले आफ्नो राय सहित प्रदेशसभा कार्यसमितिमा पठाउछ । प्रदेशसभा कार्यसमितिले प्रतिनिधिसभा कार्यसमितिमा राय सहित पठाउछ । प्रतिनिधिसभा कार्यसमितिले फेरी प्रतिनिधिसभा संसदीय समितिमा आफ्नो राय सहित पठाउछ । अन्तिममा प्रतिनिधिसभा संसदीय समितिले वडा अध्यक्ष र सदस्यको उमेद्वार अनुमोदन गरि घोषणा गर्छ ।