हाइड्रोपावरले भत्कायो खोदोलदेवीस्थान



रसुवा ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको भोटेकोसीस्थित त्रिशूली खोलाको दोभानमा रहेको महत्वपूर्ण शक्तिपीठ खोदोलदेवीस्थान हाइड्रोपावर निर्माण गर्ने क्रममा भासिएको छ । एउटा ठूलो ढुंगाभित्र देवस्थान रहेको थियो ।

देवीस्थान ढुङ्गाको बीच–बीचमा प्वाल रहेको थियो । त्यस प्वालभित्र शुद्ध गाईको दूध, लोकल कुखुराको अण्डा चढाउने गरेको धुन्चेका झाँक्री तथा मन्दिरका पुजारी कामछिरिङ तितुङको कथन छ । ढुङ्गामाथि ताथा दायाँदायाँ देवीलाई मनपर्ने बिरुवाहरू लगाइएको थियो । २ सय १६ मेगावाटको हाइड्रोपावर बनाउँदा त्यस देवीस्थानलाई फुटाएर नामोनिसान मेटाइएको छ ।
ढुङ्गालाई खोतलेर नागदेवीको रुपमा भित्र बसेर धुन्चे गाउँलाई रक्षा गरेको भन्ने किम्वदन्ती रहेको छ । देवीको प्रतीकका रूपमा रहेको यस ठाउँमा नाग घुमिरहने गरेको उहाँको कथन छ ।

धुन्चेको पुच्छर खोदोलदेवीस्थान, दायाँपट्टि घले दरबार, बायाँपट्टि शंख अढेको ठाउँ ब्रावल, शिरमा प्राकृतिक ठाउँ भएकाले धुन्चेलाई देवीदेवताले घेरेर राखेको भनी यस ठाउँलाई पवित्र भूमि मानिन्छ । संरचना निर्माण गर्दा यस्तो धार्मिकस्थललाई जोगाउनुपर्नेमा हाइड्रोपावरले उल्टै जरैदेखि खनेर ढुंगा फुटाएको रसुवा नागरिक समाज का अध्यक्ष बावुलाल तामाङले बताउनुभयो । तत्कालै केही नभए पनि भविष्यमा केही अनिष्ट हुनसक्ने चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्